आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएः मन्त्री पुन
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २० शनिबार
732
Shares
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका कारण नेपालीहरूले दुःख पाएको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले आर्थिक विपन्नताले रोजगारी सिर्जना, बाटो, अस्पताल र विद्यालय निर्माण र सञ्चालनमा समस्या आएको भन्दै नेपालीहरूले पनि दुःख पाएको बताए ।
उनले भने, ‘आर्थिक विपन्नताले गर्दा देश विकास हुँदैन्, रोजगारी हुँदैन्, बाटोहरू राम्रो बन्दैन्, अस्पताल राम्रो बन्दैन्, राम्रो सेवा पाइँदैन, विद्यालयलाई सञ्चालन गर्न सकिँदैन। यस्ता धेरै कुराहरू आर्थिक विपन्नताले हुन्छ र यसले गर्दा नै नेपालीहरूले दुःख पाएको हो । आर्थिक विपन्नतालाई सम्पन्नतामा कसरी परिणत गर्न सक्छौँ भन्ने कुरा बुझ्नका लागि इतिहास पनि हेर्नुपर्ने हुन्छ ।’
यस्तै, उनले नेपालमा केही गर्नुपर्यो भने पैसा नै छैन् भन्ने कुरा आफू शिक्षामन्त्री भएर मन्त्रालयमा जाँदादेखि रहेको र यो समस्या पहिलैदेखि नै विद्यमान रहेको बताए ।
नेपालमा नेपालीहरुले धेरै दुःख पाउनुको कारण पनि नेपालीहरू आफै भएको पनि उनको भनाइ छ ।
उनले भने, ‘नेपालमा नेपालीहरूले धेरै दुःख पाएका छौँ । कुनै कुनै नेपालीले सुख पाउनु भएको छ होला । तर अधिकांश नेपालीहरूले दुःख पाएका छन् । त्यसमा हामीले नेपालीकै हात छ । नेपालीकै ढंग नपुगेर दुःख पाएको हो। व्यक्ति विशेष कुरा होईन्, सम्पूर्ण नेपाली समाजको ढंग पुगेन् ।’
उनले देशमा खासगरि विज्ञान र प्रविधिको विकास नभएको कारण देशको प्रतिभाहरूले नेपालमा अवसर नपाएर विदेशिन पनि बाध्य भएको पनि बताए ।
अर्थतन्त्र प्रविधिसँग जोडिएको हुन्छ प्रविधिको विकास नहुँदा अर्थतन्त्र पनि विकास हुन नसकेको पनि उनको भनाइ छ ।