arrow

गाउँमै उद्योग खुलेपछि जुनार किसान खुशी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
junar-ramechhap.jpg

रामेछाप । रामेछापको पहिचानको रूपमा चिनिने जुनार अब बिक्री नहोला भन्ने पिरबाट रामेछापका जुनार किसान मुक्त भएका छन् । 

किसानले उत्पादन गरेको जुनार गाउँमा नै उद्योग खोलेर प्रशोधन गरिने भएपछि जुनार खेती गर्ने किसानहरूलाई राहत भएको छ ।

अहिले गाउँको उत्पादन जुनार गाउँकै उद्योगमा बिक्री हुनुको साथै गाउँकै मानिसहरूको रोजगारीको थलोसमेत बनेको छ ।

रामेछापको रामेछाप, सुकाजोर, ओख्रेनी, सालु, देउराली, गोठगाउँ, रामपुर, हिमगंगा लगायतका क्षेत्रमा उत्पादन भएको जुनार प्रशोधन गर्ने उद्योग रामेछाप नगरपालिका-७ सुकाजोरमा सञ्चालनमा आएपछि किसानले उत्पादन गरेको जुनार सोही उद्योगमा बिक्री हुन लागेको छ । 

मन्थली डिलक्स एग्रोफरेष्ट्री प्रालिले किसानहरूको जुनार बगैँचामा नै गएर खरिद गरी ल्याई जुस बनाउने गरेको छ । 

जुनार टिप्ने, जुनार ताछ्ने तथा जुनार पेल्ने काममा अहिले ७० देखि ८० जना स्थानीयले नियमित काम गरिरहेका सो कम्पनीका सञ्चालक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । 

‘किसान आफैँले पनि रोजगारी पाएका छन्, गाउँका अन्य मानिसले पनि रोजगारी पाएका छन्’, उनले भने । 

जाडोमा जुनार त्यति नजाने भएकोले त्यसबाट जुस निकालेर राखी गर्मी सिजनमा बजारमा लैजाने सञ्चालक श्रेष्ठले बताए।

रामेछापको जुनारको जुस केही वर्षयतादेखि देशैभरि र विदेशसम्म पुग्ने गरेको छ । 

‘गर्मीयाममा चाडपर्व, कोसेलीको रूपमा जुनारको जुसको राम्रो माग रहेको छ’, उनले भने । 

बागमती प्रदेश सभाका उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले उद्योगको स्थलगत अवलोकन गरेका छन् ।

गाउँको कृषि उत्पादनमा आधारित यस्ता उद्यमहरूले ग्रामीण अर्थतन्त्रको विकासमा सहयोग गर्ने बताउँदै उनले यस्ता उद्योगलाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोगको लागि आफूले पहल गर्ने बताए । 

सरकारका तर्फबाट अनुदानमा उपकरणहरू सहयोग भए उद्योगलाई थप विस्तार गर्ने योजना रहेको सञ्चालक श्रेष्ठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ