arrow

परिवर्तनलाई परिणाममा बदल्न एकै ठाउँमा उभिन कुलमानको आह्वान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
kulman-ghising-ujyalo.jpg

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिचाईंमन्त्री कुलमान घिसिङले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नसके मात्र मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिने बताएका छन् ।

बुधबार उज्यालो नेपाल पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिको प्रमुख आधार नै भ्रष्टाचार नियन्त्रण भएको बताएका हुन् ।

उनले आगामी २१ फागुनपछि कस्तो सरकार बन्छ ? प्रश्न र चासो आम नागरिकमा रहेको उल्लेख गर्दै नयाँ विकल्पको रूपमा उज्यालो नेपाल पार्टीको स्थापना भएको बताए ।

उनले परिवर्तनको नेतृत्व नयाँ पुस्ताका सक्षम व्यक्ति, संस्था र संगठित जनसमूदायले गर्न आवश्यक रहेको पनि बताए ।

उनले आम नागरिकको इच्छा र आकांक्षाका आधारमा वैकल्पिक शक्तिहरू एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

घिसिङले वैकल्पिक राजनीतिक शक्ति एक ठाउँमा नआएसम्म परिणाममुखी परिवर्तन सम्भव नहुने जिकिर गरे ।

बिग्रिएको बेला गाली गर्ने तर अवसर आउँदा पछि हट्ने प्रवृत्तिले मुलुकको विकास सम्भव नरहेको उनको भनाइ छ ।

उनले भने, ‘२१ फागुनपछि कस्तो सरकार आउँछ भन्ने धेरै नागरिकको चासो छ । त्यही कारण उज्यालो पार्टी जन्मेको हो । अब परिवर्तनको नेतृत्व नयाँ विकल्प दिनसक्ने व्यक्तित्वहरू, संस्थाहरू र पार्टीहरूले गर्नुपर्छ । यसको लागि आम जनसमुदायको इच्छा, आकंक्षाका आधारमा आपसमा एकताबद्ध भएर लाग्नुपर्छ भन्ने मेरो बुझाई छ । अब सबै नयाँ र वैकल्पिक साथीहरू एकठाउँमा आएर जस्तोसुकै परिस्थितिमा पनि एक ठाउँमा आएर परिवर्तनलाई परिणाममा बदल्नुर्छ । यो परिणाम दिनको लागि नयाँ र युवाको नेतृत्व आउनुपर्छ । बिग्रिएको बेला सबैले गाली गर्ने तर जुनबेला अवसर आउँछ त्यो बेला भाग्ने हो भने फेरी पनि परिवर्तन आउँदैन । यो परिवर्तनका लागि देशभित्र तथा देशबाहिर रहेका सम्पूर्ण नेपाली जनताले योगदान गर्नुपर्छ । एकदुई जनाको योगदानले हँुदैन सबैले एकमत भएर लाग्नुपर्छ । मुलुकको विकास र समृद्धिका लागि सबै एकजुट भएर लागौँ भन्ने मेरो आह्वान हो । अहिले एकताका लागि केही साथीहरू लागिरहनुभएको छ । अब नेपाल समृद्ध हुन धेरै समय लाग्दैन । नेपालको समृद्धिको आधार भनेको सुशासन हो । भ्रष्टाचारमुक्त देश बन्नु नै नेपालको समृद्धिको प्रमुख आधार हो । जेनजीले उठाएका मागहरूको सम्बोधन गर्न सबैभन्दा पहिले भ्रष्टाचारमुक्त मुलुक बनाउनुपर्छ । भ्रष्टाचारमुक्त देश बनाउन सक्यौँ भनेमात्र हामी समृद्धितर्फ अगाडि बढ्छौँ । अब राजनीतिमा पनि सही व्यक्तिहरू आउनुपर्यो । बाहिर बसेर गाली गरिरहने तर राजनीतिमा आउन नचाहने प्रवृत्तिले देश परिवर्तन हुँदैन ।’

राजनीतिमा सही, सक्षम र इमान्दार व्यक्तिहरू प्रवेश गर्नुपर्नेमा उनको जोड थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ