अपाङ्गता भएका व्यक्ति अझै पनि सेवासुविधाबाट बञ्चित [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
793
Shares
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका अपाङ्गता भएका व्यक्तिहरू अझै पनि सेवासुविधाबाट बञ्चित रहेको बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले समाज र राज्य दुवैले अपाङ्गता भएका व्यक्तिहरूप्रति देखाउनुपर्ने संवेदनशीलता पर्याप्त रूपमा विकास नभएको उल्लेख गरेका हुन् ।
उनले भने, ‘हामी हरेक व्यक्तिहरू चिन्तित हुन्छौँ, खुसी हुन्छौँ, सुख-दुःख भोग्छौँ । तर जब हामी अपाङ्गता भएका व्यक्तिहरूलाई भेट्छौँ, तब जीवनको असली परिभाषा तपाईंहरूभित्र देख्छौँ । विभेद अन्त्यका अनेक प्रयास भए पनि अपाङ्गता भएका व्यक्तिमाथिको विभेद अझै समाप्त भएको छैन ।’
सरकारी तथ्याङ्कलाई आधार मान्दा देशभर करिब साँढे छ लाख अपाङ्गता भएका व्यक्तिहरू रहेको उल्लेख गर्दै उनले तीमध्ये झण्डै डेढ लाख गम्भीर अवस्थामा रहेको बताए ।
‘गम्भीर अपाङ्गता भएकामध्ये धेरैको जीवन विछ्यौनामै बितिरहेको छ । उनीहरूको जीवनमा राज्य र समाजले कति ध्यान दिएको छ भन्ने प्रश्न उठेको छ,’ उनले भने ।
प्रदेशदेखि स्थानीय तहसम्म आवश्यक सेवा प्राप्त गर्न कठिनाई अत्यधिक रहेको उल्लेख गर्दै मन्त्री खरेलले ह्वीलचेयरजस्ता आधारभूत सहायक सामग्रीसमेत सहज र निःशुल्क रूपमा उपलब्ध हुन नसकेको तथ्य उजागर गरे ।
उनले भने, ‘दार्चुला, बैतडी, सोलुखुम्बु, रौतहट वा सातै प्रदेशका कुनै पनि ठाउँमा रहेको शारीरिक अपाङ्गता भएका व्यक्तिले के उनी आफ्नो जिल्लामै सहज र निःशुल्क रूपमा ह्वीलचेयर पाउँछन् त ? यो अझै सुनिश्चित छैन ।’
मन्त्री खरेलले विभेद अन्त्य र पहुँचयोग्य सेवा सुनिश्चितताका लागि तीनै तहका सरकार तथा समाज सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।