arrow

अध्यक्षले मनोमानी गरेको आरोपमा राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रसँगै सबै प्रदेश कार्यालयमा तालाबन्दी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २ सोमबार
talabandi-locked-key-final.jpg

काठमाडौँ ।अध्यक्षले संस्थालाई मनोमानी ढंगले सञ्चालन गरेको आरोप लगाउँदै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पदाधिकारीहरूले काठमाडौँस्थित केन्द्रीय कार्यालयसँगै सातै प्रदेशका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । 

रातोपुल र भृकुटीमण्डपस्थित महासंघका कार्यालयहरूमा वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष अनिता घिमिरे र महासचिव सुगम पोखरेलको नेतृत्वमा तालाबन्दी गरिएको हो। सो अनुसार प्रदेश मातहतमा पनि तालाबन्दी गरिएको छ ।

तालाबन्दी कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य संस्थाका प्रतिनिधि तथा अन्य विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो। तालाबन्दीपछि कार्यालयमा विभिन्न मागसहितको प्रेस विज्ञप्ति टाँसिएको छ।

विज्ञप्तिमा महासंघका वर्तमान अध्यक्षबाट विधानविपरीत गतिविधि, स्वेच्छाचारी निर्णय, संस्थागत प्रक्रिया बेवास्ता तथा आसन्न १०औँ राष्ट्रिय अधिवेशनलाई प्रभावित पार्ने प्रयास भइरहेको आरोप लगाइएको छ। साथै महासंघलाई संस्थागत र लोकतान्त्रिक चरित्रअनुसार सञ्चालन नगरी निजी कम्पनीझैँ चलाइएको दाबी गरिएको छ।

विज्ञप्तिअनुसार कार्यसम्पादन समितिको बैठक आवश्यक प्रक्रिया र पर्याप्त सूचना बिना बोलाइएको, भर्चुअल बैठकमा सहभागी नभएका वा ‘डिस्कनेक्ट’ भएका सदस्यलाई समेत गणना गरी अलोकतान्त्रिक ढंगले निर्णय गरिएको तथा महासचिवको अधिकार खोस्ने निर्णय गरिएको आरोप लगाइएको छ। 

त्यस्तै चार प्रदेश महासंघको सुझाव बेवास्ता गर्दै एकलौटी रूपमा बुटवललाई अधिवेशन स्थल तोकिएको उल्लेख गरिएको छ।

महासंघका पदाधिकारीहरूले सदस्य संस्थाहरूको नवीकरण प्रक्रिया समयअघि नै बन्द गरी १०० भन्दा बढी संस्थालाई नवीकरणबाट वञ्चित गरेर आफूअनुकूल संस्थाहरू मात्र समेटी अधिवेशन गर्ने तयारी गरिएको आरोप लगाएका छन्। 

साथै निर्धारित समयमा निर्वाचन समिति गठन नगरिएको र स्वास्थ्य नवीकरणमा अनियमितता गरिएको, निर्वाचन प्रक्रियामाथि हस्तक्षेप भएको पनि उनीहरूको भनाइ छ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश महासंघको बैंक खाता रोक्का गरिएको, संस्थाको निर्णय पुस्तिका अध्यक्षले आफैं नियन्त्रणमा राखेको तथा संस्थागत स्रोत–साधन दुरुपयोग भएको जस्ता विषय पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

अध्यक्षले पटक–पटक अधिवेशन सार्दै आएको, संस्थाको साझा चरित्रअनुसार काम नगरेको र यसका कारण महासंघको संस्थागत अवस्था कमजोर बन्दै गएको आरोप समेत लगाइएको छ।

महासंघभित्र देखिएको अनियमितता र विवादका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, गृह मन्त्रालय, समाज कल्याण परिषद् तथा जिल्ला प्रशासन कार्यालय लगायतका निकायहरूमा यसअघि नै उजुरी तथा ध्यानाकर्षण गराइएको पनि पदाधिकारीहरूले जनाएका छन् ।

तालाबन्दी कार्यक्रममा बोल्दै उपाध्यक्ष अनिता घिमिरेले संस्थालाई कुनै व्यक्तिको बन्धक बनाएर सञ्चालन गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताइन्। उनले सबै सदस्य संस्थाको नवीकरण सुनिश्चित गरी निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगले अधिवेशन गराउनुपर्ने माग गर्दै अधिवेशन सार्ने वा अल्झाउने गतिविधि तत्काल बन्द गर्न अध्यक्षलाई चेतावनी दिइन् । 

साथै वर्तमान समितिबाट निष्पक्ष अधिवेशन सम्भव नदेखिएकाले  सर्वपक्षीय निर्वाचन समिति गठन गरेर महासंघलाई पुनः संस्थागत मार्गमा लैजानुपर्ने धारणा व्यक्त गरिन् ।

विज्ञप्तिमार्फत पदाधिकारीहरूले अध्यक्षको तत्काल राजीनामा, विधानविपरीत गरिएका निर्णय खारेज तथा सबै सदस्य संस्थाको सहभागितासहित निष्पक्ष निर्वाचन सुनिश्चित गर्न स्वतन्त्र तदर्थ समिति गठन गर्न माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ