कार्तिकको अविरल वर्षाले कृषिमा दुई अर्ब बढीको क्षति: धान उत्पादन सात प्रतिशत घट्ने अनुमान [भिडियो]
कोशीको झापामा सबैभन्दा बढी क्षति
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
789
Shares
काठमाडौं । गत असोज १५, १६ र १७ गते अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण नेपालको कृषि क्षेत्रमा करिब दुई अर्ब ९१ करोड रुपैयाँ बराबरको ठूलो क्षति भएको एक अध्ययनले देखाएको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले तयार पारेको स्थलगत अध्ययन प्रतिवेदनअनुसार सबैभन्दा बढी क्षति पाक्नका लागि तयार भएको धानबालीमा भएको छ। त्यसपछि तरकारी र केराबालीमा क्षति पुगेको छ। मन्त्रालयका सूचना अधिकारी तथा वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले दिएको जानकारीअनुसार यसको सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको छ, र त्यसमा पनि झापा जिल्लामा सबैभन्दा बढी धानबालीमा क्षति पुगेको छ।
विपद्ले त्यसपश्चात् मधेश, वागमती र गण्डकी प्रदेशमा क्रमशः क्षति पुर्याएको छ। समग्रमा करिब २० हजार हेक्टर (२०,००१.५२ हेक्टर) धानबालीमा क्षति पुगेको प्रतिवेदनमा औँल्याइएको छ, जसबाट ७५ हजार ६७४ मेट्रिक टन धान नष्ट वा प्रभावित भएको छ। धानबालीमा मात्रै २ अर्ब ६६ करोड ४१ लाख को नोक्सानी भएको छ।
अध्ययनले चालु आर्थिक वर्षमा मधेसमा भएको सुख्खा र यो अविरल वर्षाले पुर्याएको क्षतिका कारण करिब ५ देखि ७ प्रतिशत धान उत्पादन घट्ने प्रारम्भिक अनुमान गरेको छ। विशेष गरेर तरकारीको पकेट क्षेत्र मानिएको सुनसरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही लगाएतका जिल्लाहरू प्रभावित हुँदा मधेश प्रदेशमा तरकारीबालीको उत्पादन पनि घट्ने अनुमान गरिएको छ।
प्रदेशहरूमध्ये कोशी सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ २ अर्ब ५ करोडभन्दा बढीको क्षति भएको छ। त्यसपछि मधेशमा (२२ करोड ७६ लाख) र लुम्बिनीमा (१३ करोड ६८ लाख) बराबरको क्षति भएको अध्ययनले देखाएको छ। जिल्लातर्फ झापामा सबैभन्दा धेरै ८० करोड ७३ लाख, मोरङमा ५८ करोड ७८ लाख र सुनसरीमा ४५ करोड ३१ लाखको धानबाली क्षति भएको छ।
प्रतिवेदनमा विपद्बाट हुने क्षति न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम मा जोड दिन प्रदेश तथा स्थानीय सरकारलाई सचेत गराइएको छ। सूचना अधिकारी जोशीले कृषि बीमा कार्यक्रममा कृषकहरू जोडिन आवश्यक रहेको र दातृ निकायहरूले पनि विपदबाट क्षति पुगेका कृषकहरूलाई राहत तथा पुनस्र्थापनाको काम गर्न सके किसानका पीरमर्का सम्बोधन हुने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको तिमीले बताएका छन्।