सडक विस्तार विवादले हेटौँडामा चर्कियो आन्दोलन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
896
Shares
हेटौँडा । हेटौँडामा जारी २५ मिटर सडक विस्तारको विवाद चर्किँदै जाँदा बजारका अधिकांश व्यवसायीले व्यापारिक गतिविधि पूर्णरूपमा बन्द गरी सडकमा प्रदर्शन गरेका छन् ।
सडक सीमाङ्कनका कारण विस्थापित हुने जोखिममा परेका व्यापारी र घरधनीहरू उचित मुआब्जा बिना सडक विस्तार अघि बढाउन नपाइने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।
सडक विस्तारको १५ दिने सार्वजनिक सूचना सकिन अब चार दिनमात्र बाँकी रहेका बेला आन्दोलनलाई थप प्रभावकारी बनाउन व्यापारिक समुदाय सक्रिय देखिएको छ ।
आन्दोलनकारीले सटर नखोली सडकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरे पनि केही व्यवसायी र घरधनीले भने सटर खोलेर व्यापार सञ्चालन गरेको भन्दै उनीहरूलाई पनि एकताको बल देखाई सटर बन्द गरेर सडकमा उत्रिन आग्रह गरिएको छ ।
आन्दोलनकारी व्यवसायीको भनाइमा, ‘हेटौँडाको भविष्य सुरक्षित राख्न, न्यायपूर्ण मुआब्जा प्राप्त गर्न र मनपरी निर्णय रोक्न सबै प्रभावितले एउटै आवाज उठाउनुपर्ने आवश्यकता छ । आजको आन्दोलन हामी सबैको अधिकारको रक्षा गर्न हो, केहीको लागि मात्र होइन ।’
सडक विस्तारको प्रक्रियामा पारदर्शिता अभाव, मुआब्जा निर्धारणमा स्पष्टता नहुनु र सरोकारवालाको आवाजलाई बेवास्ता गरिएको आरोपसहित व्यवसायीले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
यसैबीच, हेटौँडा बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयले भने कानूनी प्रक्रिया अनुसारै काम अघि बढाइने फेरि दोहोर्याएका छन् ।