arrow

फापरखेत पहिरोमा ट्रकसहित नदीमा खसेका चालकको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
darwang-road.jpg
तस्बिर फाइल

काठमाडौँ । म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्।

सिमेन्ट बोकेर भैरहवादेखि दरवाङ जाँदै गरेको ग २ ख ०८४० नं को ट्रक फापरखेत पहिरोको घुमाउरो र साँघुरो सडकबाट आज बिहान करिब २:३० बजे करिब ६० मिटर तल म्याग्दी नदीमा खसेको थियो। ट्रकसहित चालक पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराका ३४ वर्षीय गोविन्दबहादुर खाम्चा म्याग्दी नदीमा खसेका थिए।

प्रहरी निरीक्षक सागर तिमिल्सिना र सिङ्गा तातोपानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिवाकर सुवेदीको नेतृत्वमा खटिएको १३ जना प्रहरीको टोलीले म्याग्दी नदीको पानीमा खसेको ट्रकभित्र रहेका चालक खाम्चालाई उद्धार गरेको हो। निधारमा चोट र शरीरको विभिन्न भाग ददारिएको अवस्थामा उद्धार गरिएका चालक खाम्चाको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ र उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था खतरामुक्त छ।

नदीभित्र रहेको ट्रक निकाल्ने प्रयास भइरहेको छ। प्रहरीका अनुसार ट्रकमा तीन सय ४० बोरा सिमेन्ट थिए, जसमध्ये केही बोरा नदीमा खसेको र केही बोरा भिरमा अड्किएको छ। फापरखेतको पहिरोले बेनी–दरवाङ सडकमा बर्खायाममा अवरोध र अन्य समयमा पनि दुर्घटनाको जोखिम बनाएको छ। उक्त ठाउँमा गत असोजमा पनि सिमेन्ट बोकेको ट्रक सडकबाट खसेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ