ललितपुर । बिचौली तथा विवादास्पद व्यापारी दीपक भट्टको सानेपास्थित निवास किरण भवनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार अपरान्ह छापा मारेको छ ।
प्रधानमन्त्री सुशीला कार्की सरकारलाई अस्थिर पार्ने प्रयत्नसहित भट्ट विभिन्न शक्तिसँग सक्रिय भएको समाचार सार्वजनिक भइरहेका बेला सीआईबीले छापा मारेको हो ।
सीआईबीको टोलीले घरभित्र विस्तृत रूपमा चेकजाँच गर्दै एउटा टाटा पिकअपमा भरिएको ठूलो परिमाणका शंकास्पद कागजात नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
ती कागजातमा आर्थिक चलखेल, विदेशी कारोबार, अवैध लगानी र प्रभाव कारोबारसँग सम्बन्धित संवेदनशील विवरण भएको आशंका छ।
दुई दिनदेखि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग र राजश्व अनुसन्धान विभागसमेत भट्टका आर्थिक गतिविधिबारे समन्वय गर्दै गहिरो रूपमा निगरानी राख्दै आएका थिए ।
भट्टले प्रधानमन्त्री सुशीला कार्कीका छोरा, बुहारी र सम्धीमार्फत् आफूमाथिको अनुसन्धान रोकाउन प्रयास गरेको समाचार सञ्चार माध्यममा आइरहेका बेला सरकारी संयन्त्र झनै सतर्क बनेको सरकारी स्रोतहरू बताउँछन् ।
यसअघि भट्ट सरकारविरुद्ध विकल्प खोज्दै विभिन्न राजनीतिक र गैर–राजनीतिक शक्तिसँग भेटघाट गरिरहेको, सरकार अस्थिर बनाउन हत्कण्डा अपनाएको जस्ता समाचारहरू पनि सार्वजनिक भएका थिए ।
नेपालका ठूल्ठूला विवादास्पद आर्थिक क्रियाकलापमा संलग्न भट्ट अब सरकारको कडाइपूर्ण निगरानीको दायरामा पुगेका छन् ।
नियन्त्रणमा लिइएका कागजातहरूको परीक्षणपछि भट्टविरुद्ध थप कानूनी कारबाही अघि बढ्ने संकेत सरकारी निकायहरूले दिएका छन् ।
प्रधानमन्त्री सुशिला कार्कीको विकल्प खोज्दै आफू अनुकूलको सरकार बनाउन खोज्ने भट्टलाई यो प्रयास महँगो पर्न सक्ने देखिएको छ।