arrow

जेन-जी आन्दोलनका शहीद माधवको परिवार: क्षतिपूर्ति होइन, न्याय र परिवर्तनको प्रतीक्षामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
madhav-saru-magar.jpg

अर्घाखाँची। जेन-जी आन्दोलनका क्रममा गत भदौ २३ गते काठमाडौँको बानेश्वरमा प्रहरीको गोली लागेर मृत्यु भएका अर्घाखाँचीका माधव सारु मगरको परिवारले छोरा गुमाएको पीडाका साथै राज्यले परिवर्तन नल्याउने हो कि भन्ने चिन्ता बोकिरहेको छ। बीस वर्षीय सहिद माधवलाई औपचारिक रूपमा सहिद घोषणा गरिए पनि उनको परिवार आज पनि न्याय र बलिदानीको पूर्ण सम्मानको प्रतीक्षामा छ।

पढाइमा अब्बल र अनुशासित युवा माधव बढ्दो भ्रष्टाचार, राज्य संयन्त्रको बेथिति र युवापुस्ताको भविष्यसँग खेलवाड भइरहेको अनुभूति गर्दै जेन-जी आन्दोलनमा सहभागी भएका थिए। पछिल्ला नौ वर्ष कतारमा काम गरिरहेका माधवका बुबा चन्द्रबहादुर छोराको मृत्युपछि स्वदेश फर्केका थिए। उनी भन्छन्, "राज्यले सम्झेको छ, सहिद घोषणा गरेको छ र केही क्षतिपूर्ति पनि दिएको छ, त्यसका लागि हामी आभार व्यक्त गर्न चाहन्छौँ तर त्योभन्दा अझ बढी हाम्रो अपेक्षा के हो भने अहिले युवा पुस्ताले जुन खालका आवाजहरू सडकमा उठाएको थियो–राज्यमा व्याप्त भ्रष्टाचार, बेथिति, निराशा, बेरोजगारीको विकराल र बढ्दो समस्या, अब त्यो खालको आवाज फेरि अर्को पुस्ताले उठाउनु नपरोस्।"

माधवकी आमा मधु सारु अझै पनि शोकबाट उठ्न सकेकी छैनन्। उनी भन्छिन्, "देशका लागि जसले ज्यान दियो, त्यहीका परिवारलाई देशले बचाउन सक्दैन भने हामीले कसरी गर्व गर्ने?" उनले गोली हान्नेहरूलाई कानुनी सजाय दिनु र सहिद परिवारका लागि स्वदेशमै स्थायी रोजगारी प्रदान गर्नुपर्नेमा जोड दिइन्। परिवारको गुनासो छ कि आन्दोलनमा सहभागी हुनु अपराध नभए पनि निहत्था युवामाथि गोली चलाउने अधिकारी आजसम्म कारबाही बाहिर रहेको छ।

सरकारबाट सहिद परिवारको पुनःस्थापनाबारे स्पष्ट योजना आउन ढिलाइ भएपछि घरको आर्थिक भारले थिचिएर बुबा चन्द्रबहादुर रोजगारीको लागि र घरमा रहेका श्रीमती, १२ वर्षीय छोरा र १० वर्षीया छोरी पाल्नका लागि केही दिनअघि फेरि कतार गएका छन्।

माधवका साथी पुस्कर पौडेलले माधव एउटा व्यक्ति मात्र नभएर युवापुस्ताको पीडा र आक्रोशको प्रतिनिधि भएको बताए। उनी भन्छन्, "जबसम्म उनीहरुको योगदानको सम्मान हुँदैन, सहिदको आत्मा शान्त हुँदैन।" उनले बलिदानलाई अर्थपूर्ण बनाउन राज्यले पारदर्शी छानबिन, दोषीमाथि कारबाही र सहिद परिवारको पुनःस्थापनामा गम्भीरता देखाउन ढिलाइ गर्न नहुने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ