रात्रिकालीन निरीक्षणमा मन्त्री घिसिङ: तीन सिफ्टमा काम नभए कारबाही गर्ने चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
748
Shares
काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा त्यहाँ भइरहेको कामको जानकारी लिँदै तोकिएको 'तीन सिफ्ट' मा काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले आगामी फागुन २१ को चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा पटक पटक तीन सिफ्टमा काम गराउन निर्देशन दिएको बताए।
मन्त्री घिसिङले तीन सिफ्टमा काम गरी निर्माण सम्पन्न नगरेमा निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिए। त्यस्तै, नियमित सुपरीवेक्षण गर्ने आयोजना व्यवस्थापन र परामर्शदातालाई पनि कारबाही गरिने उनले बताए। संसद भवन निर्माण एकदमै महत्वपूर्ण भएकाले आगामी चैत अगाडि नै निर्माण सम्पन्न हुनु पर्ने उल्लेख गर्दै मन्त्री घिसिङले उक्त समयमा निर्माण सम्पन्न नभएमा लापरवाही गर्ने सबैलाई कारबाही गरिने चेतावनी समेत दिए।
संसद भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो। पाँचौंपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी १६ पुसमा सकिँदैछ। आयोजनाको सिभिललगायतका संरचना निर्माणको प्रगति करिब ८७ प्रतिशत रहेको छ। इन्टेरियर, सुरक्षा प्रणालीलगायतका कामको ठेक्का २०८० मा भएको थियो, जसको निर्माण प्रगति ३० प्रतिशत रहेको छ।
उनले धेरै मेहनत नगरिएमा तोकिएको समयमा निर्माण सम्पन्न हुन गाह्रो रहेकोले हरेक दिनको बेलुका निर्माण कार्य प्रगतिको समीक्षा गरी सोहीअनुसार आवश्यक स्रोतसाधन परिचालन गर्न निर्देशन दिँदै निर्माण कार्यको आफैंलेसमेत नियमित अनुमगन गर्ने बताए।