arrow

महाधिवेशनको अन्तिम तयारीमा एमाले, नारा तय, दुई पक्षबीच भिडन्त, प्रतिनिधि १३ गते छानिने [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
uml-meeting-82-8-10 (8).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ। नेकपा एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीको चरणमा रहेको जनाएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको ११ औं राष्ट्रिय महाधिवेशनको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसबारे जानकारी दिए ।

उनले बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरूले आ-आफ्नो क्षेत्राधिकारभित्र गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराए।

पार्टीले महाधिवेशनमा प्रस्तुत गर्न लागेको लोगोको बारेमा पनि छलफल भएको र अन्तिम रूप दिने तयारी भइरहेको गौतमले बताए। पार्टीको महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको उनले जानकारी दिए।

संवैधानिक हिसाबले अध्यावधिक गर्नका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको र यो नियमित काम भएको उनले स्पष्ट पारे। नेकपा एमाले संसद पुनःस्थापनाको पक्षमा रहेको र संवैधानिक संपरीक्षणको लागि निवेदन दिइसकिएको पनि गौतमले बताए।

उनले सरकार शान्ति सुरक्षामा संवेदनशील नरहेको भन्दै निर्वाचनमा जानका लागि शान्ति सुरक्षाको वातावरण बनाउन जरुरी रहेको बताए। नेताहरू कार्यक्रममा जाँदा देखिएको अराजकताले सरकार निर्वाचनमा जानका लागि शान्ति सुरक्षाको वातावरण बनाउन संवेदनशील छैन भन्ने देखिएको उनको भनाइ छ।

प्रतिनिधि छनोट अझै भएन
नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्न सो पार्टीको सङ्गठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ । पार्टी स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने बताए । यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ ।

त्यसैगरी कायम भएको अन्तिम मतदाता सूचीको सङ्ख्या केन्द्रीय सङ्गठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ । 

यस्तै, मङ्सिर १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा मङ्सिर १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न निर्देशन जारी गरिएको छ । 

विभागको यो निर्देशनले कुनै पनि बहानामा मङ्सिर १३ गते गर्नुपर्ने प्रतिनिधि छनोटलाई नसार्न निर्देशन गरेको छ । केही जिल्लामा प्रतिनिधिको उम्मेदवारी दर्ता शुल्क अत्यधिक तोकिएको जानकारी आएकाले त्यसमा विभागले हस्तक्षेप गरेको छ । 

प्रतिनिधिमा उम्मेदवारी शुल्क बढीमा रु एक हजारभन्दा बढी नलिन पनि निर्देशन गरिएको छ । प्रतिनिधि छनोटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेतालाई समयमै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनोट प्रक्रियामा सहजीकरण गर्न पनि विभागले निर्देशन जारी गरेको छ ।

यही मङ्सिर २७ देखि २९ गते काठमाडौँमा हुने पार्टीको ११औँ महाधिवेशनको मङ्सिर १३ गते देशैभरी र प्रवासमा पनि एकै दिन महाधिवेशन प्रतिनिधि छनोट हुँदैछन् । एमालेको महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुँदैछन् ।

दुई पक्षबीच भिडन्त
 एमालेभित्र नेतृत्वको रस्साकस्सी शुरू भएको छ । मंगलबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेसँगै एमालेको भावी अध्यक्षका लागि रस्साकस्सी शुरू भएको हो ।

मंगलबार विज्ञप्ति जारी गर्दै उनले पार्टीको आशन्न ११औँ महाधिवेशनमा अध्यक्षको उम्मेद्वार बन्ने घोषणा गरेका हुन् ।

‘पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेद्वारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु । पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको हुँ,’ विज्ञप्तिमा उल्लेख छ ।

पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन् । 

‘पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा (एमाले) लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न म प्रतिबद्ध छु,’ उनले भनेका छन् ।

‘पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आँफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन् । 

पोखरेलले यही मंसिर १३ गते हुने महाधिवेशन प्रतिनिधि छनोटमा विवेक पुर्याउन पनि आह्वान गरेका छन् । उनले यसो भनिरहँदा कतै ओली पक्षले घोटाला गर्छ कि भन्ने आशंका व्यक्त गरेको बुझ्न सकिन्छ ।
 

uml-meeting-82-8-10 (3).jpg
uml-meeting-82-8-10 (4).jpg
uml-meeting-82-8-10 (5).jpg
uml-meeting-82-8-10 (6).jpg
uml-meeting-82-8-10 (7).jpg
uml-meeting-82-8-10 (8).jpg
uml-meeting-82-8-10 (9).jpg
uml-meeting-82-8-10 (1).jpg
uml-meeting-82-8-10 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ