arrow

एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा, मुख्य नारा तय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
uml-meet-mahadibeshan.jpg

काठमाडौं। नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीको चरणमा रहेको जनाएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको ११ औं राष्ट्रिय महाधिवेशनको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसबारे जानकारी दिए। उनले बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरूले आ-आफ्नो क्षेत्राधिकारभित्र गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराए।

पार्टीले महाधिवेशनमा प्रस्तुत गर्न लागेको लोगोको बारेमा पनि छलफल भएको र अन्तिम रूप दिने तयारी भइरहेको गौतमले बताए। पार्टीको महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको उनले जानकारी दिए।

संवैधानिक हिसाबले अध्यावधिक गर्नका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको र यो नियमित काम भएको उनले स्पष्ट पारे। नेकपा एमाले संसद पुनःस्थापनाको पक्षमा रहेको र संवैधानिक संपरीक्षणको लागि निवेदन दिइसकिएको पनि गौतमले बताए।

उनले सरकार शान्ति सुरक्षामा संवेदनशील नरहेको भन्दै निर्वाचनमा जानका लागि शान्ति सुरक्षाको वातावरण बनाउन जरुरी रहेको बताए। नेताहरू कार्यक्रममा जाँदा देखिएको अराजकताले सरकार निर्वाचनमा जानका लागि शान्ति सुरक्षाको वातावरण बनाउन संवेदनशील छैन भन्ने देखिएको उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ