लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि, विधेयकहरू प्रस्तुत गर्ने तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
862
Shares
काठमाडौँ । लुम्बिनी प्रदेशसभाको सातौँ अर्थात् हिउँदे अधिवेशन आज दिउँसो १ बजेदेखि सुरु हुँदैछ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकको सम्भावित कार्यसूची तय गरिएको छ। कार्यसूचीअनुसार बैठकको सुरुमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रहरू पढेर सुनाउने छन्। त्यसपछि सभामुख तुलबहादुर घर्तीले प्रदेशसभा सदस्यहरूको उपस्थिति–अनुपस्थितिको जानकारी पेस गर्ने र दलका तर्फबाट सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहने सचिव पुनममगरले बताए।
गत भदौ ३१ गते छैटौँ अर्थात् वर्षे अधिवेशन अन्त्य भएको लुम्बिनी प्रदेशसभामा हिउँदे अधिवेशनका लागि छलफल गर्न दुईवटा संशोधन विधेयक दर्ता भइसकेका छन्: जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक।
यस अतिरिक्त, आइतबार बसेको मन्त्रिपरिषद् बैठकले थप विधेयकहरू प्रदेशसभामा पेस गर्नका लागि स्वीकृति दिएको छ। ती विधेयकहरूमा लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक र दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक समावेश छन्। मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयबाट अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमसम्बन्धी कार्यविधि, २०८२ पनि पारित गरेको छ।