माछापुच्छ्रे बैङ्क र जोयालुक्कास एक्सचेन्ज युएई बीच रेमिट्यान्स सेवा सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
729
Shares
काठमाडौँ। विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैङ्क लिमिटेडले संयुक्त अरब इमिरेट्स स्थित जोयालुक्कास एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ। माछापुच्छ्रे बैङ्क लिमिटेडले युएईमा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ युएई स्थित जोयालुक्कास एक्सचेन्जसँग सहकार्य गरी विधिवत् रूपमा रेमिट्यान्स सेवाको सुरुवात गरेको हो। रेमिट्यान्स सम्बन्धी उक्त सम्झौता पत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ्रे बैङ्क लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौता पछि अब युएईमा रहेका नेपालीहरूले युएई स्थित जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट एमबीएल रेमिट गरी नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैङ्कका १६५ वटा शाखाहरू, शाखारहित बैङ्किङ सेवा र ११ एक्सटेन्सन काउन्टर तथा २० हजार भन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ।
साथै, जोयालुक्कास एक्सचेन्जबाट एमबीएल रेमिट गरी पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैङ्कका खातामा तुरुन्त जम्मा हुने व्यवस्था पनि यस बैङ्कले मिलाएको छ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैङ्क लिमिटेड पूर्व देखि पश्चिम साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६५ वटा शाखाहरू, शाखारहित बैङ्किङ सेवा ८८ र ११ एक्सटेन्स काउन्टर समेत गरी जम्मा २७४ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटिएमहरू मार्फत १८ लाख भन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधि सहित सम्पूर्ण बैङ्किङ सुविधा प्रदान गरिरहेको छ।