एउटै बैठकको नौ हजारसम्म भत्ता बुझ्छन् सावर्जनिक संस्थानका कर्मचारी
बैठक भत्ता ११ थरीका, सबैभन्दा बढी भत्ता राष्ट्र बैंक, विद्युत प्राधिकरणमा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
846
Shares
काठमाडौँ । नेपाल सरकारका सावर्जनिक संस्थान, नियामक निकाय, प्रतिष्ठान, बोर्ड तथा समितिका कर्मचारी तथा पदाधिकारीहरुले एउटै बैठक भत्ता बापत नौ हजार रुपैयाँसम्म लिने गरेका छन् ।
कर्मचारीहरुको सेवासुविधामा एकरुपता कायम गर्ने सुझाब सम्बन्धी सरकारी कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख भएअनुसार ५९ वटा संस्थान तथा निकायहरुको सञ्चालक समितिको बैठक भत्ता रकम न्युनतम २ हजार रुपैयाँदेखि ९ हजार रुपैयाँ रहेको उल्लेख छ । यस्तो बैठक भत्ता ११ थरी रहेको छ ।
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी, नेपाल खानेपानी संस्थान, नेपाल वन निगम लिमिटेडसहित १९ वटा संस्थाहरुको बैठक भत्ता सबैभन्दा कम अर्थात् प्रति बैठक दुई हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंक र नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले सबैभन्दा बढी प्रति बैठक भत्ता नौ हजार रुपैयाँसम्म लिने गरेको प्रतिवेदनमा उल्लेख छ ।
कर्मचारी सञ्चयकोषका पदाधिकारीहरुले प्रति बैठक भत्ता ८ हजार रुपैयाँ र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका पदाधिकारीहरुको बैठक भत्ता भने ७ हजार ५ सय रुपैयाँ रहेको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा भने बैठक भत्ताको व्यवस्था नरहेको प्रतिवेदनमा उल्लेख छ ।
ती संस्थानहरुमा बैठक भत्ता बाहेक अतिरिक्त सेवा सुविधाहरुसमेत रहेको उल्लेख छ ।
ती संस्थाका सञ्चालकहरुका लागि मासिक १३ वटा संस्थामा टेलिफोन सुविधा, आठ वटामा पत्रपत्रिका सुविधा, पाँच वटामा इन्धन खर्च सुविधा, ११ वटामा इन्टरनेट सुविधा, २ वटामा अतिथि सत्कार खर्च र एउटामा अन्य भत्ता उपलब्ध गराउने व्यवस्था रहेको उल्लेख छ ।