उपसभामुखसँग विपक्षी सात दलले गरे प्रदेशसभा बैठक आह्वानको माग
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
846
Shares
काठमाडौँ। मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने विपक्षी सात राजनीतिक दलको गठबन्धनले मङ्सिर ३ गते प्रदेशसभा बैठक आह्वान गर्न माग गरेको छ। सभामुख रामचन्द्र मण्डलविरुद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता भएको अवस्थामा, विपक्षी दलका ३२ जना प्रदेशसभा सदस्यहरूले उपसभामुख बबिता राउतसमक्ष हस्ताक्षरसहित बैठक बोलाउन माग गरेका हुन्।
माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले २५ प्रतिशत प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गर्न सक्ने प्रावधानअनुसार सभामुखविरुद्धको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउने उद्देश्यका साथ माग गरिएको जानकारी दिए।
नेपाली काँग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्र सम्मिलित विपक्षी गठबन्धनले बैठक माग गरेको हो। तत्कालीन मुख्यमन्त्रीले विश्वासको मत लिन नसकेपछि कात्तिक २२ गतेदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन।