आ-आफ्नो जिम्मेवारी व्यावसायिक रूपमा वहन गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
808
Shares
काठमाडौँ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखिएका सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै त्यसको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन्। सोमबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै कार्कीले कुनै पनि अपराधविरुद्ध निर्मम भई सबै प्रहरी कर्मचारीहरूले आ-आफ्नो जिम्मेवारी व्यावसायिक रूपमा वहन गर्न निर्देशन दिएका हुन्।
प्रहरी महानिरीक्षक कार्कीले आपराधिक गतिविधिको सूचना सङ्कलन तथा विश्लेषणमा थप सक्रियता अपनाउनु आवश्यक रहेको बताउँदै वस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद र फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्न निर्देशन दिए।
उनले सबै प्रहरी कर्मचारीहरूले शिष्ट बोली, वचन एवं व्यवहारका साथ नागरिकका गुनासो सम्बोधन गर्न क्रियाशील हुनुपर्नेमा जोड दिए। साथै, आ-आफ्नो क्षेत्रमा सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा योजना निर्माण गर्दै स्थानीय तह एवं सरोकारवालासँग समन्वय गरी व्यावसायिक, उत्तरदायी एवं जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए। उनले आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिहरू अवलम्बन गरी कार्यान्वयन गर्न पनि निर्देशन दिए।
सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले समेत समसामयिक विषयमा निर्देशन दिएका थिए।