३० वर्षपछि गाउँ फर्किएर बाँझो बारी हराभरा बनाउँदै कमलप्रसाद
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
895
Shares
म्याग्दी। सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला पर्वतको जलजला गाउँपालिका–४, मल्लाज भवानीपानीका ५५ वर्षीय कमलप्रसाद पौडेलले बजारबाट जन्मथलो फर्किएर व्यावसायिक तरकारीखेती सुरु गरेका छन्। करिब तीन दशकअघि व्यवसायका लागि बजार झरेका पौडेलले अहिले बाँझिएको पुर्ख्यौली बारीलाई तरकारी खेती गरेर हराभरा बनाएका छन्।
विसं २०५० मा घर, जग्गा र खेती किसानी छाडेर बेनी बजार झरेको बताउँदै पौडेलले भने, “२० वर्ष बेनीमा व्यवसाय गरेँ, करिब १२ वर्ष भारत र नेपालकै विभिन्न सहरमा नोकरी गरेँ। सोचेजस्तो सफलता हात नपरेपछि फेरि गाउँ फर्किएर तरकारी खेती गर्न थालेको हुँ।”
तरकारी खेतीका लागि पौडेलले चार रोपनी पुर्ख्यौली पाखोबारीलाई व्यवस्थापन गरेका छन्। गत वर्षसम्म झाडीले भरिएको बारीमा अहिले बन्दा, काउली र ब्रोकाउली खेती फलेको छ। सडक, यातायात, सिँचाइ र बजारको सुविधा भएकाले तरकारी खेतीमा पौडेलले सम्भावना देखेका छन्। बारीकै छेउको सडकबाट तरकारी ढुवानी गरी म्याग्दीको सदरमुकाम बेनी हुँदै मुस्ताङसम्म बिक्री हुने भएकाले बजारको समस्या नभएको उनले बताए।
पौडेलका छिमेकी गोपाल आचार्यका अनुसार मेहनत र परिश्रम गर्ने हो भने गाउँमा पनि अवसर र सम्भावना भएको सन्देश पौडेलले दिएका छन्। प्रशासनिक बाहेक मल्लाजको सामाजिक, आर्थिक र व्यापारिक सम्बन्ध म्याग्दीसँग गहिरो छ। विसं २०४६ देखि सुरु भएको र २०७४ मा सम्पन्न भएको बृहत मल्लाज सिँचाइ आयोजनाले यहाँका किसानलाई खेती गर्न सहज बनाएको छ।