'कोदो गरिबको खाना' भनेर हेप्ने दिन गए: बन्यो 'पोसिलो र महँगो' खाद्य
म्याग्दीमा कोदोको माग बढ्यो, ढिँडोबाट बिस्कुटसम्म
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३० आइतबार
835
Shares
म्याग्दी। म्याग्दीमा उत्पादन हुने कोदोको परिकारको विविधीकरण र बजारीकरण हुन थालेको छ। कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूको रोजाइमा पर्न थालेपछि यसका परिकार अब ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर बिस्कुट पनि बन्न थालेको छ। माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन्।
अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरको अन्नपूर्ण बेकरी हाउसका सञ्चालक कृष्ण खड्काले उपभोक्ताबाट माग आउन थालेपछि कोदोको बिस्कुट उत्पादन गर्न थालेका छन्। यसअघि धवलागिरि गाउँपालिका–७ ताकममा धवलागिरि बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारीले पनि कोदोको पीठोबाट बिस्कुट उत्पादन गरेर बिक्री गर्दै आएका छन्। रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको टोड्के हिल रिसोर्टले पनि पाहुनालाई चखाउन र बजारमा बिक्री गर्न कोदोको बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना गरेको छ।
व्यवसायी खड्काले कोदोको बिस्कुटको माग ग्रामीण क्षेत्रको तुलनामा बजारबाट बढी आउने गरेको बताए। विदेशमा रहेका र भ्रमणमा आउने पाहुनाले कोदोको पीठो र बिस्कुट किनेर लैजाने गरेको बताइएको छ। भुटेको कोदोको पीठोमा चिनी, मह, उखुको खुदो मिसाएर बिस्कुट बनाउने गरिएको छ, जुन प्रतिदर्जन (१२ वटा) रु ६० का दरले बिक्री हुने गरेको छ।
उद्यमी खड्काले पर्यटकीय जिल्ला मुस्ताङ र अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थलको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाको केन्द्र पोखरबेगरमा स्थानीय उत्पादनको कोसेलीघर सञ्चालन र कोदोको बिस्कुटका साथै पाउरोटी बनाउने तयारी गरेको बताए। कोसेलीघर स्थापना र कोदोको बिस्कुट बनाउन आवश्यक पर्ने ‘ओभन’का लागि कृषि ज्ञान केन्द्रले गत आर्थिक वर्षमा रु दुई लाख अनुदान सहयोग गरेको थियो। चालु आर्थिक वर्षमा परम्परागत बाली संरक्षण कार्यक्रमका लागि म्याग्दीमा प्रदेश सरकारबाट रु १५ लाख बजेट विनियोजन भएको छ, जसमा उद्यमी तथा किसानले परियोजनाको कुल लागतको ५० प्रतिशत अनुदान पाउनेछन्।
म्याग्दीको २,७५० हेक्टर क्षेत्रमा वार्षिक ३,३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ। क्याल्सियम, फस्फोरस र आइरन प्रशस्त मात्रामा पाइने कोदोलाई बालबालिकादेखि ज्येष्ठ नागरिक, गर्भवतीहरूका लागि उत्तम खानाका रूपमा लिइन्छ। केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, दम र रुघाखोकीका रोगीहरूका लागि कोदो अति राम्रो मानिने र यसको उपभोगले रगतमा बोसो र कोलस्टेरोलको मात्रा घटाउने बताए। उद्यमी अनिल भण्डारीले खेती घटेर संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको कोदोको परिकारलाई विविधीकरण र बजारीकरण गर्दा किसानलाई फाइदा पुग्ने र आयात घटाउन सहयोग पुग्ने भनाइ राखेका छन्।