हाम्रो समाजले हिंस्रकलाई मर्यादा गर्छ र मेहनतीलाई हेप्छ
नेपालमा रूख काट्नेलाई अष्ट्रेलियामा जस्तै जरिबाना हुनु नि
बद्रीप्रकाश ओझा,
प्रकाशित २०८२ कार्तिक २९ शनिबार
1k
Shares
आन्दोलनले थलिएको राजनीति र त्यसमा पनि कृषिप्रतिको हेय देष्टिले नेपालमा अस्ट्रेलियामा जति सस्तोमा कृषि उपज उत्पादन गर्न अहिलेका लागि असम्भव नै छ ।
दश रुपैयाँ नाफा र अरु १० भाडा लागे पनि ५५–५६ रुपैयाँमा गहुँ नेपाल पुग्छ । अहिले कति पर्छ त थाहा छैन तर गत वर्ष मैले धनुषाका किसानको घरबाट केजीको ६० हालेर गहुँ ल्याएको सम्झना छ ।
हाम्रोमा कुनै चिजको पनि भाउ घटदैन । मलाई लाग्छ, अहिले पनि गहुँको भाउ ६० भन्दा बढी नै होला ।
ती किसानले किन नेपाली युवती खोजे भन्नेमा चाख लाग्दो कथा छ । पूर्वमेयरकी दुलही बिरामी भइछन् । अस्पताल बस्दा एउटी नेपाली नर्सले साह्रो सेवा गरिछन् ।
पत्नीको सेवामा खटिएकी नर्सलाई सोधेछन् – मेरो नातिसँग विवाह गर्छौ ? आप्रवासी भएकाले कुन देशबाट आएकी भन्नुलाई अन्यथा मानिएन । नेपाली भन्ने थाहा पाएपछि किसान अझ खुशी भए ।
कुनैबेला उनको नगरमा लेखाप्रमुख नेपाली रहेछन् । ती लेखाका कर्मचारीले गरेको सेवा नगरमा सधैं चर्चा हुँदो रहेछ । पछि ती अधिकृत सिड्नी सरे ।
ती किसानलाई नेपालीप्रति अत्यन्त स्नेह रहेछ ।
नर्सले आफ्नो जोडीको व्यवस्था भइसकेको बताएपछि किसान खिन्न भए तर उनले नातिनी बुहारी नेपाली मूलबाट भित्र्याउने चाहना भने अझै मारेका छैनन् ।
उनले तुरुन्तै आसपासमा भेटिएका नेपाली मूलका अस्ट्रेलियनहरूलाई अनुरोध गरे— एउटी सुन्दर नेपाली कन्या खोज त भाइबहिना हो ।
खोज जारी नै छ ।
मैले जिस्केर भनँे, म डिसेम्बरमा नेपाल जान्छु । नातिलाई मसँगै घुम्न पठाइदिनु । उतै कोही न कोही त आँखामा पर्ला नि ।
महिला, बालबालिका, पशुपन्छी र वनस्पतिका लागि स्वर्ग मानिँदो रहेछ, अस्ट्रेलिया । कसैको घरछेउँमा जति नै जिर्ण रूख भए पनि काट्न नपाइने । बरु निहुँखोजाहाहरूले नजाँनिदो पाराले त्यस रूखलाई दुःख दिँदा रहेछन् । त्यो पनि कानूनको आँखा छलेर ।
सरकारले थाहा पाए एक लाख १० हजारदेखि ११ लाख डलरसम्म जरिबाना हुँदोरहेछ । त्यस्ता जिर्ण रूखलाई फेदपट्टि अरु काठले तोक्मा लगाएर वरिपरि काठको पट्टि लगाएर राखिँदोरहेछ । यस्तो काम गर्न तालिम प्राप्त विज्ञहरूको सेवा लिइँदोरहेछ ।
यही अवस्था छ रे महिलाको पनि । कसैले कुनै महिलामाथि हेय हृष्टिले हेर्यो भन्नेमात्र लागे तु प्रहरीलाई खबर पुग्छ । आउँछ, सिधा अदालत लान्छ । जे भन्नु छ अदालतमा भन्नु भन्छ रे । मुद्दा पनि सरकारवादी हुन्छ ।
ए भाइ हो कसरी जीवन चलेको छ त भनेर रकडेलमा नेपाली भाइहरूलाई सोधेको त एउटा भाइले सल्लाह दियो—दाइ अलि विस्तारो बोल्नु है, तपाईं एक्स पुस्ताको मान्छे ।
उसले हाम्रो गाउँघरमा हुने लैंगिक विभेदको आशंका व्यक्त गर्यो ।
मैले निर्धक्क भनिदिएँ —भाइ डन्ट ओरी, म यस्ता कुरा बुझ्छु ।
मलाई त्यतिबेला अर्को एउटा भाइको याद आयो ।
यस्तो देशमा बसेर पनि वाम राजनीति गर्ने त्यो भाइले छद्म नामबाट मलाई निकै नै पढाएको थियो । पञ्चायत र माओवादी द्वन्द्व दुवैको पीडा बोकेर तीन पटक बसाई सरेर हामी सपरिवार काठमाडौँ पुगेका थियौँ । आफ्नो खेती चटक्कै छोडेर सहर पस्दा हामीलाई त खास भएन तर बाआमालाई कति हो कति गाह्रो भएको थियो ।
त्यस्ता पीडकहरू आज अस्ट्रेलिया जस्तो देशमा बसेर अझै वामपन्थी हँु भन्छन् । अचम्म लाग्छ । कुकुरको पुच्छरको कथा झैं ।
जनताको मुक्तिको नाममा दुनियाँका छोरछारीको गला रेट्नेहरू नै अहिले चोकमा उभिएर स्वतन्त्रता र समानताको गफ दिन्छन् । कति हाँस्नु ।
जे भए पनि यस मुलुकमा नेपालीको छवि खासै नकारात्मक रहेनछ । सन् ९० को दशकमा एकजना नेपाली भाइले दक्षिण एसियाली मूलको एउटा छोटे डनको हत्या गरेको घटना सबैभन्दा बढी चर्चित रहेछ ।
एउटा नेपाली भाइमाथि जाइलगेका बेला साथीले पच्काएपछि त्यो डन मारिएको हो भन्ने सुनियो ।
हत्याको अभियोगमा जेल बसेका ती नेपाली भाइहरूको स्वस्तिशान्तिका लागि काठमाडौंस्थित मैतीदेवी मन्दिरमा पूजाआजा गरिएको मलाई सम्झना छ ।
मेरो साथीले मलाई पनि पूजामा लगेको थियो । पछि उसले कथा सुनायो । त्यो डन केटाले नेपाली भाइको घाँटी थिच्दै गरेको अर्को भाइले देखेछ । एक पञ्च दिएको सधैंका लागि बिदा भएछ ।
त्यसपछि सामाजिक सञ्जालमा भेटिएको एक ज्येष्ठलाई मुक्याउने अर्को नेपाली भाइको कथा पनि चर्चित नै रहेछ । तर ती भाइले भने आफूमाथि अन्याय भएको दाबी गर्दै ३० लाख डलर क्षतिपूर्ति पाए भन्ने सुनियो । सुनिएअनुसार ती वृद्धले पहिले हात छोडेका थिए रे ।
यस मुलुकमा जसले पहिला हात छोड्छ, उसैको गल्ति मानिँदोरहेछ । त्यो चाहिँ राम्रो लाग्यो । जति नै मुख छोडे पनि हात भने त्यति सजिलै नछोड्दा रहेछन् ।
छोड्नै परे फकाइफुल्याई कुनामा लगेर दोक्च्याउँदारहेछन् , त्यो पनि क्यामरोको आँखा छलेर ।
जे होस्, अस्ट्रेलिया मेरा लागि आठौँ प्रदेश झैं लाग्छ । मेरो परिवारका भाइबहिना, छोराछोरी, भान्जाभान्जी गरी एक दर्जनलाई यसै मुलुकले रोजगारी दिएको छ ।
उनीहरू स्वदेशमा भन्दा निकै नै गतिलो जीवन बिताउँछन् । देशमा म दैनिक गुजाराका लागि भोको मुसो झैं दौडन्छु तर मेरा लालाबाला यहाँ पजेरोमा हुइँकिन्छन् । देख्दा पनि खुशी लाग्छ ।
यसरी मेहनत गरेर देशमा रेमिट्यान्स पठाउनेहरूलाई नेताहरू विदेशमा भाँडा मोल्नेको आँखाले हेर्छन्, त्यो चाहिँ चित्त काटिने कुरो छ ।
एक पटक स्वर्गीय डा. डीपी भण्डारीले जीउँदै हुँदा एउटा लेख लेखेका थिए । उक्त लेखमा गधा र बाघको तुलना गरिएको थियो । डा. भण्डारी बडो गज्जबका मानिस थिए । अंग्रेजीका प्राध्यापक उनी संस्कृतमा पनि उत्तिकै धुरन्धर थिए । मेरा गुरु भएकाले उनको बयान गर्न अति मन पर्छ ।
उनले द वेस्ट ल्यान्ड भन्ने एउटै कविता ६ महिना पढाए । साउनदेखि माघसम्म पढाएपछि हाम्रो कक्षाको कसैले त्रिविको अंग्रेजी विभागमा गुनासो गरेछ । भोलिपल्ट बाबैले थर्काए ।
विभागीय प्रमुख नै बाबैका चेला को बोल्ने र ?
बेलाबेला मलाई भन्थे – तेरो गुरु रजनीश मेरो मिल्ने साथी हो । हो रहेछ, सन् १९८६ मा ओशो नेपाल आएका बेला बुढासँग धेरै गफ गरेका रहेछन् ।
एउटा प्रवचनमा डा. भण्डारी भनेर सम्बोधन गरेको रहेछ । ओशोको दुनियाँमा उनले कसैलाई स्पर्श गरेको वा सम्बोधन गरेको विषयलाई निकै ठूलो मानिन्छ । यसैलाई भजाएर रोटी सेक्नेहरूको कमी छैन ।
त्यतिबेला ओशोको नाम भगवान् रजनीश थियो । एकजना नेपाली पत्रकारले मिस्टर रजनीश भनेर सम्बोधन गर्दा ओशोले अस्वीकार गरेछन् । भगवान् रजनीश भन भनेछन् । पत्रकारलाई रन्का छुट्यो । उनले सो कल्ड भगवान् रजनीश भनेर सम्बोधन गरेछन् ।
अहिले पनि ती पत्रकार बेलाबेलामा तपोवन गएर यो कुरा सुनाउँछन् र पश्चात्ताप गर्छन् । ती पत्रकारले कथा सुनाउँदा कतिपय संन्यासीहरू रुन्छन् । मानौं उनीहरू ओशोका छोराछोरी वा नातिनातिना हुन् । गुरुले जीवनभर आडम्बरको विरोध गरे तर चेलाचेली सबैभन्दा ठूला आडम्बरी छन् ।
प्राध्यापन पेशाको अन्त्यतिर पुगेका डा. भण्डारीसँग ज्ञानको ठूलो भण्डार थियो । उनी रसिक मानिस थिए । महिला पात्रको चर्चा उनको चाखको विषय थियो । यतिसम्म बलिया बुढा कि ६०–६५ को उमेरमा पनि दाँतैले बियरको बोत्तल खोलिदिन्थे । असाध्य उदार स्वभावका बाबैका घरमा आँठापाँजा मैले पनि रमाइलो गर्ने अवसर पाएको छु ।
पछि रेडियो सगरमाथा एफएम एक सय दुई थोप्लो चारमा पनि सँगै प्रवचन गर्ने अवसर मिलेको थियो । एक दुई पटक बुढाकै गाडीमा रेडियो पनि गएको थिएँ ।
गधा र बाघसम्बन्धी लेखमा उनले कसैलाई तिमी त बाघजस्तै छौ भन्यो भने खुशी हुन्छ तर गधा जस्तै छौ भन्यो भने लड्न तयार हुन्छ भन्ने उल्लेख गरेका थिए । बाघ हिंस्रक छ, गधा मेहनती छ ।
हाम्रो समाजले हिंस्रकलाई मर्यादा गर्छ र मेहनतीलाई हेप्छ भन्ने शन्देश दिएका थिए, डा भण्डारीले ।
ठ्याक्कै नेपाली नेतानेतीहरूले विदेशमा काम गर्ने मेरा भाइ, भतिजा भतिजी र भान्जा भान्जीलाई गधाको आँखाले हेर्दा अति नै दुःख लाग्छ । डा. भण्डारीलाई झलझली सम्झिन्छु ।
अझ त्यसरी भाषण गर्नेका छोराछोरी पढ्छन् अस्ति खरानी बनाइएको सबैभन्दा स्कूलमा । न बाबुआमाको कुनै इलम छ । उही मञ्चमा प्याउँप्याउँ गर्नुबाहेक काम छैन । सहरमा घर छ । छोराछोरी सबैभन्दा महँगो स्कूलमा पढ्छन् । पैसो कताबाट आउँछ भन्ने स्रोत छैन । सधैं राम्रै लगाएर हिँड्छन् ।
अनि विदेशमा १८ घन्टा मेहनत गर्नेमाथि उनीहरूबाटै हेय दृष्टि राखिन्छ ।
अनि आन्दोलन नभएर के मुर्दा शान्ति छाउँछ ?
अझ विदेशमा बस्ने नेपालीलाई यहीँबाट भोट हाल्ने व्यवस्था गर त तिमीहरूको हालत कस्तो हुन्छ । हेरौँ ।
जे होस् हाम्रोजस्तो मध्यम परिवारमा जन्मनेका लागि अस्ट्रेलिया स्वर्ग नै हो ।
यहाँ मेहनत गर्नेले बोराभरि पैसा बटुल्छ । हाम्रोमा जस्तो सानो पदका कर्मचारी अस्थायी वा करारमा राख्ने र ठूला पदकाहरूको हालिमुहाली हुँदैन ।
यहाँ ठूला पदकाहरू करारमा लिइन्छ र साना पदकाहरू स्थायी हुन्छन् । जिम्मेवारीको बोझले गर्दा मानिसहरू भरसक कार्यालय प्रमुख वा उपप्रमुख जस्तो तनाववाला काम गर्न मन पराउँदैनन् । बरु पदोन्नती नै माग्दैनन् ।
काम जे गरोस् तलबमा खासै फरक छैन । विशेष सीपयुक्त काम जस्तै प्लम्बर, इलेक्ट्रिसियन तथा विषादीजन्य पेस्ट कन्ट्रोल गर्नेहरूको कमाइ डाक्टरको भन्दा पनि बढी हुन्छ । (लेखक ओझा किसानहरूको सिक्ने क्षमता विषयका पोष्ट डक्टरल अनुसन्धानकर्ता हुन्)