काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्ट कम्पनीको विवाद कानूनी हिसावले आफूसँग नजोडिएको स्पष्टिकरण दिएका छन्। शुक्रबार उनले आर्थिक हिसावले चरम अभाव झेलिरहेको तत्कालीन अवस्थामा सबै संरचनाहरू आफूले सम्हालेको भएपनि कम्पनीबाट आफू चार वर्षअगाडि नै अलग भएको दाबी गरे।
उनले स्काउटलाई जग्गाको भाडा नियमित रूपमा तिर्दै आएको भएपनि आफूलाई तत्कालीन अवस्थादेखि नै राजनीतिक पूर्वाग्रह राखेर निकाल्न खोजिएको र बत्ती काट्नेसम्मका काम भएको बताए। यसै कारणले चार वर्षअगाडि नै आफ्नो नामको शेयर स्वामित्व बेचेर बाहिरिएको उनले स्पष्ट पारे।
खड्का ल्याण्ड आफैँले स्थापना गरेको र नामसँग मिल्दोजुल्दो भएकै कारण मात्र आफूलाई जोड्ने गरिएको भन्दै उनले आपत्ति समेत जनाए। उनले चार वर्षअगाडि नै कम्पनीका अरू साथीहरूलाई सबै कुरा मिलाएर जिम्मा लगाएर हिँडेको र हाल खड्का ल्याण्ड कम्पनीसँग आफ्नो कुनै संलग्नता नरहेको बताए।
स्मरण रहोस्, काठमाडौँको लैनचौरस्थित स्काउटको जग्गामा नेता खड्का संलग्न भनिएको कम्पनीले निर्माण गरेका संरचनामा काठमाडौँ महानगरपालिकाले बिहीबार डोजर लगाएर भत्काएको थियो। लामो समयदेखि भाडा नतिरेको भन्दै महानगरले डोजर चलाएको हो।