मधेसका पाँच सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखबाट बदर
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
778
Shares
सर्लाही । मधेस प्रदेश सभाका पाँच जना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिताकुमारी राउतले बदर गरिदिएकी छिन् ।
सभामुखविरुद्ध महाभियोग दर्ता भइसकेको अवस्थामा उनले अधिकार दुरुपयोग गर्दै पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको उपसभामुखको आरोप छ ।
सभामुख मण्डलले लगातार १० बैठकमा अनुपस्थित भएको भन्दै जसपाका चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई पदमुक्त गरेको सूचना जारी गरेका थिए ।
लगत्तै उपसभामुख राउतले अर्को सूचना जारी गर्दै सभामुखको पद नै रिक्त मानिएकाले उनको निर्णय मान्य नहुने बताउँदै पाँचै सांसदलाई पदमुक्त गर्ने निर्णय बदर गरिदिएकी हुन् ।
उनले उनीहरू २२ गतेको विश्वासको मतसम्बन्धी निर्णयको छलफलमा भाग लिएको भिडियो र फोटोसमेत भएको भन्दै निर्णय बदर गरेकी हुन् ।
लगातार १० वटा बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै मण्डलले नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह तथा जसपाका मनिषकुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र शारदाशंकर प्रसाद कलवारलाई पदमुक्त गरेका थिए ।
सभामुखविरुद्ध ७ दलका ६४ सांसदले पदअनुकूल आचरण नगरेको भन्दै महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी पनि आक्रोशित भएका हुन् ।