पाल्पा । पाल्पामा घर भत्काउने क्रममा बिहीबार च्यापिएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा निस्दी गाउँपालिका वडा नं ५ का ६३ वर्षीय टुकबहादुर सोमै रहेको प्रहरीले जनाएको छ ।
बिहीबार गल्धास्थित बेलडाँडा बजारमा भीमबहादुर शाहीको घर भत्काउने क्रममा च्यापिएर सोमैको निधन भएको प्रहरीले जनाएको छ ।
नयाँ घर निर्माणका लागि पुरानो घर भत्काउने क्रममा दोस्रो तलाको टप खस्दा च्यापिएर घाइते भएका सोमैको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर भत्काउँदा घरको टपसँगै खसेका सोमैलाई स्थानीयले उद्धार गरी उपचारका लागि रामपुर अस्पताल लगेका थिए ।
उपचारका क्रममा उनको निधन भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । रासस