कञ्चनपुर । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्री व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन्। मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएका हुन्।
कुनै बेला भारतमा मजदुरी गर्ने राना अहिले गाउँमा डेरीका मालिक बनेका छन्। विसं २०६८ देखि साइकलमा जम्मा दुई लिटर दूध सङ्कलन गरेर व्यवसाय सुरु गरेका उनी अहिले दैनिक एक हजार ५०० लिटर दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन्।
रानाले भने, "भारतमा मजदुरी गर्दा अनेक दुःख पाइयो, गाउँ फर्किएर साइकलमा दूध बिक्री गर्न थालेँ। यसैबाट कमाएको रकम बचत गरेपछि अहिले आफ्नै डेरी व्यवसायसमेत सञ्चालन गरेको छु।"
सुरुआतमा साइकलमा दूध सङ्कलन गर्दै हिँड्ने रानाले धेरै सङ्घर्षपश्चात् आफूलाई स्थापित गर्न सफल भए। उनी गाउँगाउँबाट दूध सङ्कलन गरेर स्थानीय झलारी बजार, अत्तरिया र कैलालीमा बिक्री गर्दै आएका छन्। दूध बोक्नका लागि उनले ६ जनालाई मासिक रु २० हजारदेखि रु २६ हजारसम्म तलब दिएर कामदार राखेका छन्।
यसै व्यवसायबाट रानाले करिब रु ९० लाख बराबरको सम्पत्ति समेत जोडेका छन्। "दूध बिक्रीबाट अहिले सबै खर्च कटाएर वार्षिक रु १३ लाखसम्म आम्दानी हुने गरेको छ," रानाले भने। उनले अहिले छोरालाई पनि यसै व्यवसायमा लगाएको बताए।
स्वदेशमा रोजगारी नभएको भन्दै युवा विदेश पलायन भइरहेको बेला रानाको यो सफलता लोभलाग्दो र समाजका लागि उदाहरणीय बनेको छ।