मुख्यमन्त्री नियुक्तिविरुद्ध सात दलीय गठबन्धनको आज प्रदेशभर विरोध प्रदर्शन
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
845
Shares
जनकपुर। मधेश प्रदेशमा हालै बनेको सात राजनीतिक दलहरूको गठबन्धनले आज (बुधबार) जनकपुरधामसहित प्रदेशभर विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ। गठबन्धनले हिजो (मङ्गलबार) अबेर राति प्रेस विज्ञप्ति जारी गर्दै आज बिहान ८:३० बजेदेखि प्रदर्शन सुरु गर्ने जानकारी दिएको छ।
यस सात दलीय गठबन्धनमा जसपा नेपाल, लोसपा, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। उनीहरूले आज हुने विरोध प्रदर्शनमा सहभागी हुन घटक दलका सम्पूर्ण नेता तथा कार्यकर्ता एवं न्यायप्रेमी जनतालाई आग्रह गरेका छन्।
गठबन्धनले तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले असंवैधानिक तरिकाबाट सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै उक्त नियुक्ति खारेजीको माग राखेको छ। उनीहरूले मुख्यमन्त्री सरोज कुमार यादवसहित मन्त्रिपरिषद्का अन्य सदस्यहरूलाई सार्वजनिक रूपमा बहिस्कार र विरोध गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन्।
हिजो बेलुकी मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले मधेश भवनभित्र अस्थायी रूपमा बनाइएको मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गर्दा भवनअगाडि सात दलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरिरहेका थिए। प्रदर्शन भइरहेकै समयमा सुरक्षाकर्मीले लाठी चार्ज सुरु गरेपछि दर्जन बढी नेता कार्यकर्ताहरू घाइते भएका छन्। घाइतेहरूको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ र एक जना नेताको खुट्टा भाँचिएको बताइएको छ। समाचार सङ्कलनका लागि गएका एक जना सञ्चारकर्मीको पनि टाउको फुटेको छ। गठबन्धनले लाठी चार्जमा संलग्न सुरक्षाकर्मीहरूलाई पनि कारबाही गर्नुपर्ने माग अघि सारेको छ।