राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
597
Shares
काठमाडौं। नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको ३ अर्ब ७० करोड रुपैयाँ बराबरको रकम मुद्दति निक्षेपमार्फत वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले यो रकम ३६६ दिनको अवधिका लागि लगानी गर्न लागेको जनाएको छ।
लगानी गरिने कूल रकममध्ये 'क' वर्गका वाणिज्य बैंकमा २ अर्ब ९६ करोड, 'ख' वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ५५ करोड, र 'ग' वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड रुपैयाँ मुद्दति निक्षेपमा राखिनेछ।
केन्द्रीय बैंकले निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाका लागि कडा सर्तहरू तोकेको छ। जसअनुसार, संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपर्नेछ।
यसका साथै, राष्ट्र बैंकले जरिबाना गरेका कुनै सञ्चालक वा सीईओ संस्थामा कायम नरहेको वा जरिबाना भुक्तान गरेको ६ महिना अवधि पूरा भएको हुनुपर्नेछ। शीघ्र सुधारात्मक कारबाही वा समस्याग्रस्त घोषणामा परेको अवस्थामा पनि फुकुवा भएको कम्तीमा ६ महिना अवधि पूरा भएको हुनुपर्ने र सर्वसाधारणका लागि सेयर जारी गरिसकेको हुनुपर्ने सर्त पनि केन्द्रीय बैंकले राखेको छ।
उक्त मुद्दति निक्षेपमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थालाई असोज १० गतेभित्रै राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पठाउन भनिएको छ।