सेयर बजारका आदित्य शिवाकोटी : लगानी संस्कृतिका नयाँ स्वर
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
906
Shares
काठमाडौँ । नेपालको सेयर बजार केबल अंक र ग्राफमा सीमित छैन, यो अहिले सामाजिक संवाद र वित्तीय शिक्षाको नयाँ केन्द्र बन्न थालेको छ । त्यही संवादका नयाँ आवाजमध्ये एक हुन् उदाउँदा युवा लगानीकर्ता आदित्य शिवाकोटी ।
सेयर बजारका युवा लगानीकर्ता, वक्ता, वित्तीय साक्षरताका अभियान्ता उनी पछिल्ला वर्षहरूमा सेयर बजार, लगानी र वित्तीय उत्तरदायित्वबारे युवाहरूलाई सचेत गराउने व्यक्तिका रूपमा परिचित बन्दै गएका छन् । शिवाकोटी सामाजिक सञ्जाल विशेष गरी फेसबुक, युट्युब, टिकटकमार्फत सेयर बजारका उतार-चढाव, नियामक निकायका निर्णय र लगानीकर्ताको मनोविज्ञानबारे नियमित रूपमा विचार प्रस्तुत गर्दै आएका छन् । उनका भिडियो र लेखहरूमार्फत आउने विचारले सेयर बजारको जोखिम, अवसर र नीति-निर्माण प्रक्रियाबारे जनचेतना बढाउने काम गरेका छन् ।
बजार सुधारका लागि आन्दोलनदेखि अनसन बस्ने सम्मका अनुभव हासिल गरेका शिवाकोटीको योगदान बजारको सुधारमा पनि इटा थपिएको छ । लगानीकर्ताका बीचमा उदयीमान नेता बनेका उनले अहिले हिँड काठमाडौं नामक अभियानका प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् शिवाकोटी। लगानीकर्ताका २८ बुँदै सुझाव लिएर धितोपत्र बोर्डमा सयौं लगानीकर्ताहरूको नेतृत्व गर्दै पुगेका उनको काम र भिजन हेर्दा लाग्छ त्यो भिडमा सबैभन्दा पाको उमेरका व्यक्ति पनि उनै हुन ।
“बजार त्यो ठाउँ हो जहाँ पैसा धैर्यवान मानिसहरूबाट अधीर मानिसहरूमा प्रवाहित हुन्छ” भन्ने उनी प्रायः दोहोर्याउँछन् - जसले उनी लगानीमा संयम र अध्ययनलाई प्रमुख मन्त्र मान्ने बुझिन्छ । नेपालको पूँजी बजार पछिल्ला केही वर्षमा उतार-चढावपूर्ण बनेको छ । बजार कहिले असामान्य उत्साहमा पुग्छ, कहिले निराशाको गतिमा । यस्तो अवस्थामा आदित्य जस्ता स्वतन्त्र विश्लेषकहरूले बजारमा जानकारीमा आधारित निर्णयको आवश्यकता जोड दिँदै आएका छन् ।
उनका अनुसार, “सेयर बजारको सफलता ‘कुन कम्पनी किन्नु’ भन्दा बढी ‘किन र कहिले किन्नु’ भन्ने ज्ञानमा निर्भर हुन्छ ।”
यो दृष्टिकोणले बजारलाई केबल नाफाको खेल होइन, वित्तीय अनुशासन र मनोविज्ञानको प्रयोगशालाका रूपमा प्रस्तुत गर्छ ।
“नेप्सेमा धेरै लगानीकर्ताले अध्ययनभन्दा बढी भीडको पछाडि दौडिने गर्छन् । यदि बजार बुझ्ने, जोखिम चिन्दै र समय पर्खने संयम सिक्यौं भने, घाटा होइन अनुभव कमाउने थलो बन्न सक्छ”, शिवाकोटी भन्छन् । आदित्यका सामग्रीहरू सामाजिक सञ्जालमा हजारौं युवाले हेर्ने, सेयर गर्ने र छलफल गर्ने विषय बनेका छन् । उनी कुनै संस्थागत विश्लेषक नभए पनि, बजारका चुनौतीबारे व्यावहारिक दृष्टिकोणले युवालाई लगानीमा प्रवेश गर्न प्रेरित गरेका छन् ।
साथै, उनले “जिम्मेवार लगानी संस्कृति” को वकालत गर्दै बजारको अस्थिरतालाई केबल अवसरको दृष्टिले नहेर्ने चेतावनी दिन्छन् । नेपालको सेयर बजारमा नियामक, दलाल र लगानीकर्ता - यी तीन पक्षबीच कहिलेकाहीँ दूरी बढ्ने गर्छ । यस्तो सन्दर्भमा आदित्य शिवाकोटी जस्ता स्वतन्त्र आवाजहरूले ‘वित्तीय साक्षरता’ र ‘सूचनाको पारदर्शिता’ बढाउने काम गर्दै आएका छन् ।
बजारका विद्यमान समस्याहरू- जस्तै कर्जा सुकुटीकरण, सेयर मूल्य हेराफेरी, वा नियामक असन्तुलनका बीच उनी लगातार “उत्तरदायी नियमन र शिक्षित लगानी” को पक्षमा बोल्दै आएका छन् । नेपालमा सेयर बजारको भविष्य केबल आर्थिक नीति वा ब्याजदरमा होइन, बजार बुझ्ने र बुझाउने मान्छेहरूको गुणस्तरमा पनि निर्भर छ । आदित्य शिवाकोटी त्यही नयाँ पुस्ताको प्रतिनिधित्व गर्छन्, जसले सेयर बजारलाई केकल नाफा होइन, ज्ञान र दीर्घकालीन सोचको बाटोका रूपमा बुझाउँछन् ।
२४ वर्षको उमेरमा जहाँ अधिकांश युवाहरू कलेजको शुल्क र खर्चका लागि आमाबाबुको सहारामा निर्भर हुन्छन्, त्यही उमेरमा आदित्य शिवाकोटीले सेयर बजारबाट आत्मनिर्भर बन्ने बाटो रोजे । उनी अहिले केबल लगानीकर्ता होइनन् - वित्तीय साक्षरताका अभियान्ता र बजार सुधारका अभियानी बनेका छन् ।
स्कुल पढ्दा साथीसँग कक्षा जानुअघि बिहानै सेयर भर्न लाइनमा बस्ने ठिटो आज सेयर बजारमा परिचित नाम बनेको छ । उनले औपचारिक अध्ययनभन्दा बढी अनुभव र अभ्यासबाट सिकेका पाठ साझा गर्दै आएका छन् । “म पहिलोपटक सेयर किन्न लाइनमा बसेको दिन अझै याद छ,” उनी भन्छन्, “त्यतिबेला थाहा थिएन- यो बजार केबल पैसा कमाउने ठाउँ होइन, सोच बदल्ने विद्यालय पनि हो ।”
नेपालमा सेयर बजारलाई अझै पनि ‘लहलहैमा गर्ने खेल’ भनेर बुझ्नेहरूको संख्या धेरै छ । तर आदित्य त्यस दृष्टिकोणका सबैभन्दा ठूला चुनौतीकर्ता हुन् । उनी बारम्बार भन्छन्, “बजार बुझेर लगानी गर्नुस्, भीड पछ्याएर होइन । सेयर बजार पैसा कमाउने होइन, बुझ्ने खेल हो। जसले बुझ्छ, उसले हार्दैन - चाहे बजार जे होस् ।”
उनको यही दृष्टिकोणले उनलाई सेयर बजारका जिम्मेवार युवा आवाजहरूमा अग्रपंक्तिमा ल्याएको छ । उनले फेसबुक, युट्युबजस्ता माध्यमबाट नयाँ लगानीकर्तालाई सिकाउने र सचेत पार्ने अभियान चलाइरहेका छन् ।
वित्तीय साक्षरताका अभियान्ता
सेयर बजारमा अस्थिरता आउँदा धेरैजसो नयाँ लगानीकर्ताले हतास भएर बजार छोड्छन् । तर आदित्य त्यस समयमा पनि ‘धैर्य’ र ‘ज्ञान’ को कुरा गर्छन् । उनले सेयर बजारका सेमिनार, मिडिया अन्तरवार्ता र अनलाइन प्रशिक्षणमार्फत युवाहरू माँझ वित्तीय चेतना फैलाइरहेका छन् । उनको भनाइमा - “यदि हामीले बजार बुझ्यौँ भने घाटा पनि सिकाइ हो ।”
बजार सुधारका अभियान्ता
लगानी मात्र होइन, आदित्य बजार पारदर्शिता र नियमन सुधारका लागि पनि आवाज उठाउने मध्येका हुन् । उनी नियामक निकाय र दलालबीचको दूरी घटाउन, र लगानीकर्ताको अधिकार सुदृढ गर्न सामाजिक सञ्जालमा निरन्तर सन्देश र विचारहरू राख्छन् । उनको बुझाइमा बजार बलियो तब मात्रै हुन्छ, जब लगानीकर्ताले ज्ञानका आधारमा निर्णय गर्छन् ।