arrow

शेयर बजारको सात महिना: ४४ खर्ब ८४ अर्ब पुग्यो बजार पुँजीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
nepse-chot.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनाको तथ्याङ्कअनुसार नेपालको धितोपत्र बजारमा केही उतारचढाव देखिएको छ। २०८२ माघ मसान्तसम्ममा बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बजार पुँजीकरण ४४ खर्ब ५८ अर्ब ५२ करोड रहेको थियो। रकमका आधारमा पुँजीकरण बढेको देखिए पनि कुल गार्हस्थ्य उत्पादनसँगको अनुपातमा भने गिरावट आएको छ। गत वर्ष कुल गार्हस्थ्य उत्पादनको ७८.०९ प्रतिशत रहेको पुँजीकरण यस वर्ष घटेर ७३.४३ प्रतिशतमा झरेको छ।

नेप्से सूचकाङ्कमा पनि अघिल्लो वर्षको तुलनामा सामान्य गिरावट देखिएको छ। २०८१ माघमा २६८५.७३ बिन्दुमा रहेको सूचकाङ्क २०८२ माघ मसान्तमा २६७१.०७ मा कायम भएको छ। यस अवधिमा सूचीकृत कम्पनीहरूको संख्यामा भने वृद्धि भई २८४ पुगेको छ, जबकि गत वर्ष यो संख्या २६८ मात्र थियो। सूचीकृत कम्पनीहरूमध्ये सबैभन्दा ठूलो हिस्सा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूको रहेको छ। कुल २८४ मध्ये १३२ वटा यी क्षेत्रका संस्था छन् भने ९७ जलविद्युत्, २६ उत्पादन तथा प्रशोधन, ८ होटल, ७ लगानी, ४ व्यापारिक र १० अन्य समूहका कम्पनीहरू रहेका छन्।

बजार पुँजीकरणको हिस्सालाई क्षेत्रगत रूपमा हेर्दा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूले ५१.७ प्रतिशत ओगटेका छन्। यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १६.० प्रतिशत, लगानी कम्पनीको ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ७.० प्रतिशत, व्यापारिक संस्थाको ४.७ प्रतिशत, होटलको ३.२ प्रतिशत र अन्य समूहको १०.१ प्रतिशत हिस्सा रहेको छ। माघ मसान्तसम्म सूचीकृत ९ अर्ब २३ करोड शेयरको चुक्ता मूल्य ९ खर्ब ८ अर्ब ८३ करोड पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।

चालू आर्थिक वर्षको सात महिनामा ५० अर्ब ९४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। यसमा २१ अर्ब ९६ करोडको साधारण शेयर, ९ अर्ब ६४ करोडको हकप्रद शेयर, ७ अर्ब ५० करोडको म्युचुअल फन्ड, ७ अर्ब ४९ करोडको बोनस शेयर, ३ अर्ब ४० करोडको डिबेन्चर, ९२ करोड ५० लाखको एफपीओ र २ करोड २९ लाख बराबरको अन्य धितोपत्र रहेका छन्। यस्तै, नेपाल धितोपत्र बोर्डले समीक्षा अवधिमा २४ अर्ब ४२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ, जसमा म्युचुअल फन्ड, साधारण शेयर र हकप्रद शेयरको हिस्सा बढी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ