त्याग र साहसका प्रतीक गणेशमानको जन्मजयन्ती मनाइँदै
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
941
Shares
काठमाडौँ। विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहेका गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। सिंह नेपाली राजनीतिको सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको थियो। उनले विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्तावमा आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए।
काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय भएका थिए। राणा शासन अन्त्य गर्ने अभियानमा लाग्दा उनीलगायत नेताहरू जेल परेका थिए। विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका गणेशमान, भारतमा पुगेर अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरी विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारु नेतृत्व दिन उल्लेखनीय भूमिका खेले।
प्रजातन्त्र स्थापनाका लागि भएको विसं २००७ को क्रान्तिका एक अगुवाका रुपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष समेत गरेका थिए। सैद्धान्तिक रुपमा बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थक रहेका सिंह नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील रहे।
विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले विसं २०१७ मा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दी गृहमा कारावास जीवन बिताए। विसं २०३३ पुस १६ गते बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि उन दोस्रोपटक सुन्दरीजल बन्दीगृहमा थुनिएका थिए।
विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारु व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान विसं २०४६ मा रह्यो। जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायत विरुद्ध आन्दोलनको घोषणा गर्ने सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बनेका थिए।
गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ तथा शुभेच्छुक सङ्घ संस्थाहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी उनको योगदानको स्मरण गर्दैछन्।