arrow

राष्ट्र बैंकद्वारा ३० अर्ब निक्षेप सङ्कलनको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत ३० अर्ब रुपैयाँ निक्षेप तान्न लागेको छ। दशैँ-तिहारपछि पनि वित्तीय प्रणालीमा निरन्तर अधिक तरलता कायम रहेकाले केन्द्रीय बैंकले यो कदम चालेको हो। 

हाल कुल निक्षेप ७४ खर्बभन्दा बढी पुगेको छ र केन्द्रीय बैंकले अधिक तरलता तथा ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ।

राष्ट्र बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार, वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप सङ्कलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ।

आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको यो निक्षेप सङ्कलनमा राष्ट्र बैंकबाट इजाजतप्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। बोलकबोलमा ब्याजदर बजारको माध्यमबाट निर्धारण हुनेछ। दीर्घकालीन निक्षेप सङ्कलन रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोल गर्ने रकमलाई प्राथमिकता दिइनेछ। लगानीकर्ताले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन्। राष्ट्र बैंकका अनुसार आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज २०८२ माघ १८ गते भुक्तानी हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ