जगदीश खरेलले गरे मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महसुस
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
940
Shares
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारबाट मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महसुस भएको बताएका छन् ।
आइतबार संवाद र सञ्चारमा स्वजागरणसम्बन्धी कार्यक्रममा उनले अहिले सरकारवादी भएपछि आफ्नो कित्ताकाट भएको महसुस गरेको बताएका हुन् ।
मन्त्री खरेलले भने, ‘म पत्रकार हुँदासम्म मेरो आकाश यति फराकिलो थियो, मेरा मान्छेहरू धेरै थिए । सबैले प्रशंसा गर्थे, राम्रो प्रश्न गरेको भनेर सोध्थे । तर मन्त्री भएपछि मेरो आकाश साँघुरिएको छ । अहिले त सरकारवादी भएछु । पहिला सबैको थिए, अहिले सरकार भएछु । मेरो कित्ताकाट भएको महसुस गरेको छु ।’
उनले मन्त्री बनेपछि आलोचनासमेत भोग्न थालेको बताए ।
कार्यक्रममा मन्त्री खरेलले व्यक्तिको आत्मपहिचान र भूमिकाप्रतिको स्पष्टता आवश्यक रहेको पनि बताए ।
उनले भने, ‘जब मैले राजनीतिमा पाइला राखेँ, त्यतिबेला नै म तयार थिएँ, अब म सरकारमा जाँदैछु । मैले सोचे जस्तो संसार मात्रै होइन, त्यो संसारभित्र म प्रवेश गर्दै छु भन्ने बुझिसकेको थिएँ । हामीमा ठूलो समस्या के छ भने हामी को हौँ र के हुँ भन्ने कुरा रिलाइज गरेका छैनौँ । त्यसैले हामी बढी दुःखी हुन्छौँ । पहिला म को हुँ र मेरो भूमिका के हो भन्ने कुरा बुझ्न जरुरी छ ।’