arrow

फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता गर्न सरकारले 'विशेष अपरेशन' चलाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
onprakash-aryal-home-minister.jpg
तस्बिर फाइल

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले 'विशेष अपरेशन' सञ्चालन गर्ने बताएका छन्।

शनिबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यक्रममा उनले यस कार्यमा नागरिक स्तरबाट पनि सहयोग आवश्यक रहेकोमा जोड दिए। गृहमन्त्री अर्यालले सुशासन दिन नसकिएमा द्वन्द्व दोहोरिन सक्ने र त्यसले सुरक्षा संकट निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरे।

गृहमन्त्री अर्यालले दिएको जानकारी अनुसार, जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियारमध्ये ७ सय १० वटा फिर्ता भइसकेका छन्, तर केही हतियार अझै फिर्ता हुन बाँकी छन्।

त्यसैगरी, आन्दोलनका क्रममा कुल १४ हजार ५ सय ४९ जना कैदीबन्दी फरार भएकोमा ९ हजार ५ सय २१ जना (६५ प्रतिशत) फिर्ता आइसकेका छन्। तर, अझै ५ हजार १ सय ५ जना अर्थात् करिब ३५ प्रतिशत कैदीबन्दी बाहिरै रहेका छन्।

फरार रहेका कैदी र हतियार फिर्ता गर्न सरकारले पटक-पटक सूचना जारी गरे पनि अझै पनि ठूलो संख्यामा मानिस बाहिरै रहेकाले अब विशेष अपरेशन चलाइने गृहमन्त्री अर्यालले बताए।

उनले कानूनी राज्यको जगेर्ना गर्नु आफ्नो दायित्व भएको र सरकार तथा निजी क्षेत्र एक अर्काका परिपूरक भएकाले अर्थतन्त्रको जगेर्नामा निजी क्षेत्रको दायित्व रहेको बताए। साथै, सरकार थप रचनात्मक भएर अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ