चन्द्रपुर (रौतहट)। भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै रौतहट जिल्ला प्रशासन कार्यालयले नेपाल–भारत सीमानाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख भएअनुसार, यही कात्तिक २५ गते (११ नोभेम्बर २०२५) मङ्गलबारका दिन विहारमा दोस्रो चरणको विधानसभा निर्वाचन हुन गइरहेको छ। सोही कारण, सीतामढी र पूर्वी चम्पारण जिल्लासँग जोडिएका रौतहटका सीमानाकाहरू शनिबार (कात्तिक २२ गते) साँझ ६ः०० बजेदेखि लिएर मङ्गलबार (कात्तिक २५ गते) साँझ ६ः०० बजेसम्म आकस्मिक सेवाबाहेक सबै प्रकारका आवागमनका लागि पूर्ण रूपमा बन्द हुनेछन्।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीले जानकारी दिएअनुसार, नेपाल–भारत सीमा क्षेत्रसम्बन्धी समन्वय बैठकपश्चात् दुई देशमा निर्वाचन हुनुभन्दा ७२ घण्टाअगावै सीमा शिल गर्ने चलन रहिआएको छ। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि सोहीअनुसार सीमा क्षेत्रमा आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो।