काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले बुधवार २४औँ एसियन आर्चरी च्याम्पियन्सिपमा सहभागी हुने नेपाली खेलाडी तथा विश्व आर्चरी कङ्ग्रेसमा सहभागी हुने नेपालका प्रतिनिधिलाई बिदाइ गरेका छन्।
विश्व आर्चरी कङ्ग्रेस र एसियन आर्चरी च्याम्पियन्सिप दुवै बङ्गलादेशको ढाकामा हुँदैछ। आर्चरी कङ्ग्रेस नोभेम्बर ६ देखि ८ तारिखसम्म चल्नेछ भने एसियन आर्चरी च्याम्पियन्सिप नोभेम्बर ८ देखि १५ तारिखसम्म आयोजना हुनेछ।
राष्ट्रिय आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ र महासचिव रमेशप्रसाद सिवाकोटीले विश्व आर्चरी कङ्ग्रेसमा सहभागिता जनाउनेछन्। यसैगरी, एसियन आर्चरी च्याम्पियन्सिपमा तिलक पुन मगर र ज्ञानु अवालेले नेपालको प्रतिनिधित्व गर्नेछन्।
एनओसीका अध्यक्ष श्रेष्ठले दुवै खेलाडीलाई खेल सामग्री हस्तान्तरण गर्दै राम्रो प्रदर्शन गर्नका लागि शुभकामना दिएका छन्।