arrow

पर्यटकलाई बाघको प्रत्यक्ष अवलोकन गर्ने अवसर, वन्यजन्तुको गतिविधि बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
tiger-chitwan.jpg

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय पर्यटकले बाघको प्रत्यक्ष अवलोकन गर्ने अवसर बढी पाउन थालेका छन्। सोमबार निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले बाघ देखेर उत्साह व्यक्त गरे भने गत साता पनि हल्याण्डका पर्यटकले बाघको अवलोकन गरेका थिए।

लामो समय निकुञ्ज बन्द रहेर जीप सफारी खुलेसँगै वन्यजन्तुको गतिविधि बढेकाले पर्यटकले बढी बाघ देख्न पाएको निकुञ्जले जनाएको छ। निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीहरूले समेत विगतको तुलनामा हिजोआज बढी बाघ देख्न थालेका छन्।

सौराहस्थित वनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेका अनुसार, दिनभर निकुञ्जको जीप सफारीमा निस्किएका पर्यटकहरू बाघ देखेर फर्किएपछि निकै खुशी हुँदै प्रतिक्रिया दिने गरेका छन्। पथ प्रदर्शक सरोज चौधरीले सोमबार भिम्ले पोष्ट नजिकै बेलायती जोडीले बाघ देखेपछि खुशी भएर 'टिप्स' दिएको बताए। बाघसहित दुर्लभ एकसिङ्गे गैंडा देखेपछि स्वदेशी र विदेशी दुवै पर्यटक रमाउने गरेको चौधरी बताउँछन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले पर्यटक र कर्मचारीहरूले हिजोआज बाघसहितका वन्यजन्तु धेरै देख्ने गरेको बताए। ढड्डीहरू सुकेर सुख्खापन बढ्दै गएपछि निकुञ्ज खुल्ला हुने र थप वन्यजन्तु देख्न सकिने उनको भनाइ छ।

यस वर्ष चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना गरिँदै छ। पछिल्लो गणनाअनुसार यहाँ वयस्क बाघको सङ्ख्या १२८ वटा रहेको थियो। आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ