arrow

सुदूरपश्चिममा व्यवसायबाट उदाएकी बिनु [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
binu-bhandari-bajura.jpg

बाजुरा । दुर्गम जिल्ला बाजुराको सदरमुकाम मार्तडीमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘जेसिका स्टोर’ अहिले स्थानीय स्तरमा सबैभन्दा परिचित व्यापारिक केन्द्रका रूपमा स्थापित भएको छ ।

धनगढीकी विनु भण्डारीले श्रीमानसँग मिलेर केवल ५० हजार रुपैयाँको सानो लगानीबाट शुरू गरेको यो पसल आज हजारौँ ग्राहकले भरिने केन्द्र बनेको छ ।

शुरूमा केही थान दैनिक उपभोग्य वस्तु बेचेर शुरू गरिएको पसल अहिले खाद्य वस्तु, कस्मेटिक, भाँडाकुँडा, कपडा, चकलेट, विस्कुट, पेय पदार्थदेखि केक र उपहारका सामग्रीसम्म पाइने बहुउद्देश्यीय पसल बनेको छ ।

एकै ठाउँमा सबै आवश्यक सामान पाउने भएकाले स्थानीय बासिन्दा र विद्यार्थीदेखि लिएर सरकारी कार्यालयका कर्मचारीसम्मले यही पसललाई प्राथमिकता दिन थालेका छन् ।

भण्डारीका अनुसार, यो व्यवसाय शुरू गर्दा धेरै चुनौती थिए । उनले भनिन्, ‘शुरूमा बजार सानो थियो, सामान ल्याउन सडक सुविधा थिएन, धेरै पटक घाटा पनि भयो । तर हामीले कहिल्यै हिम्मत हारेनौँ ।’

उनका श्रीमान पनि यसै पसलमा सघाउँछन् । उनले थपिन्, ‘कुनै पनि काम शुरू गर्दा नाफा तुरुन्त आउँदैन । तर लगनशीलताले ढिलोचाँडो फल दिन्छ । हामीले पनि १२ वर्षको मिहिनेतपछि अहिले सफलता पाएका छौँ ।’ 

उनी भन्छिन्, ‘व्यापारमा घाटा र नाफा दुबै हुन्छन्, तर निरन्तरता दिनु नै ठूलो कुरा हो ।’

शुरूमा केवल सानो जस्ताको कोठामा सञ्चालन गरिएको जेसिका स्टोर अहिले दुईतले भवनमा विस्तार भइसकेको छ । पसलबाट उनीहरूले अहिले घरखर्चदेखि बचतसम्मको व्यवस्था गर्न थालेका छन् ।

भण्डारी अहिले सफल महिला उद्यमीको रूपमा चिनिन थालेकी छन् । उनी भन्छिन्, ‘पहिले न घाटा सहन सक्थ्यौँ, न डर हट्थ्यो, तर अहिले महसुस गर्छु, मिहिनेतले सबै सम्भव हुन्छ ।’

उनी स्थानीय महिलाका लागि पनि प्रेरणाको स्रोत बनेकी छन् । उनीहरू पनि सानो व्यापार शुरू गर्नका लागि विनु भण्डारीको सफलताको कथा सुन्छन् र उत्साहित हुन्छन् ।

धनगढीकी भए पनि विनु भण्डारी अहिले बाजुरामै स्थायी रूपमा बसोबास गरेर व्यवसाय गर्दैछिन् । उनले भनिन्, ‘धनगढी मेरो जन्मस्थान भए पनि अहिले बाजुरा नै आफ्नै गाउँजस्तो लाग्छ ।’

दुर्गम क्षेत्रमा व्यापार सञ्चालन गर्न कठिनाइ छ । बाटो बिग्रँदा सामान आउन गाह्रो, ढुवानी खर्च धेरै, तर ती सबै कठिनाई बीच पनि उनी अडिग छिन् । उनका अनुसार, ‘यहाँका मानिसहरूसँग आत्मीयता छ, सहयोग गर्ने भावना छ । त्यसैले यो ठाउँ अहिले मसँग जोडिएको छ ।’

विनु भण्डारीले अरू व्यापारीलाई पनि हौसला दिँदै भन्छिन्, ‘व्यापार शुरू गरेपछि नाफा नहुन्जेलसम्म धैर्य गर्नुपर्छ । धेरैले बीचमा व्यापार छोड्छन्, त्यसैले असफल हुन्छन् । सफल हुन मिहिनेत, निरन्तरता र दृढ इच्छाशक्ति आवश्यक छ ।’ 

उनी भन्छिन्, ‘व्यापार भनेको केवल पैसा कमाउने माध्यम होइन, जिम्मेवारी र विश्वासको यात्रा पनि हो ।’

उनी विदेश जान चाहने युवायुवतीलाई पनि सन्देश दिन्छिन, ‘नेपालमै अवसर छ । मिहिनेत र लगनशील भएर काम गर्न सके सफलता यहीँ सम्भव छ । विदेशिनु भन्दा आफ्नै देशमा केही सिर्जना गर्न पाउनु गर्वको कुरा हो ।’

उनले थपिन्, ‘बाजुरा जस्तो दुर्गम ठाउँमा बसेर पनि हामीले सफल व्यापार गर्न सकेका छौँ भने, यो देशका जुनसुकै ठाउँमा पनि सम्भव छ ।’

राजधानीदेखि टाढा र भौगोलिक कठिनाइबीच पनि ‘जेसिका स्टोर’ बाजुराको स्थानीय अर्थतन्त्रमा सशक्त योगदान दिइरहेको छ र विनु आज प्रेरणादायी महिला उद्यमीका रूपमा उदाहरण बनेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ