काठमाडौँ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रमअन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको शिलान्यास गरेका छन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई सहजता प्रदान गर्न भवन निर्माण गर्न लागिएको बताए। आगामी दिनमा भवन निर्माणका साथै भवनबाट प्रवाह हुने सेवालाई थप परिष्कृत गर्दै लैजानुपर्नेमा उनले जोड दिए ।
नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित गरी दुःखद निधन हुँदा आशौच बार्ने संस्कार (किरिया पुत्री) का लागि काठमाडौँ महानगरपालिका-३ स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका नाममा रहेको जग्गामा किरिया पुत्री भवन निर्माण गर्न गत भदौ १९ गते बसेको नीतिनिर्माण समितिको बैठकले निर्णय गरेको थियो ।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण महाशाखाका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले भवन निर्माणको उद्देश्यसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरूलगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । रासस