राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
811
Shares
काठमाडौं। नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको रु २ अर्ब ६० करोड बराबरको रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको छ।
केन्द्रीय बैंकका अनुसार, यो रकम ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिनेछ। यस योजना अन्तर्गत वाणिज्य बैंकमा २ अर्ब ८ करोड, विकास बैंकमा ३९ करोड र वित्त कम्पनीमा १३ करोड मुद्दती निक्षेपमा लगानी गरिनेछ।
यो लगानी ९ नोभेम्बर २०२५ देखि ९ नोभेम्बर २०२६ सम्म अर्थात् ३६६ दिनको मुद्दति निक्षेपका लागि गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ।
निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाका लागि राष्ट्र बैंकले कडा शर्तहरू तोकेको छ। ती संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने र निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्नेछ। साथै, खुद तरल सम्पत्ति, कर्जा÷निक्षेप अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्ने तथा निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफा मा रहेको हुनुपर्नेछ।
यसका अतिरिक्त, निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिबाना गरेको भए, जरिबाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको वा जरिबाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने सर्त छ।
शिघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने तथा राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको वा भए पनि फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्नेछ। मुद्दती राख्न चाहने बैंक/वित्त संस्थाले असोज १० भित्रै राष्ट्र बैंकमा आफ्नो ब्याजदर प्रस्ताव पठाउनुपर्नेछ।