क्यामेरा ट्यापिङबाट ६ देखि २५ वटासम्मको उपस्थिति पुष्टि
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
706
Shares
म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं २ र ३ अन्तर्गत पर्ने जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा (हाब्रे) फेला परेका छन्। सो क्षेत्रमा जडान गरिएका तीन क्यामेरामध्ये दुईमा रेडपाण्डा भेटिएपछि उनीहरूको उपस्थिति पुष्टि भएको हो।
जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले जानकारी दिए अनुसार, एक महिना लामो स्थलगत अध्ययनका क्रममा रेडपाण्डाको दिसा भेटिएपछि क्यामेरा ट्यापिङ गरिएको थियो। उनले “सो क्षेत्रमा छ देखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको हाम्रो अध्ययनबाट पुष्टि भएको छ” भनेर बताए।
अनुसन्धानकर्ता लरिसा गौतमले पर्यटकीय राजधानी पोखरादेखि नजिकै पर्ने जलजला क्षेत्रमा हाब्रेलाई पर्यटकका लागि देखाउन सकिने र यसबाट समुदायमा आम्दानी तथा रोजगारीको अवसर सिर्जना गर्न सकिने बताए। उनले रेडपाण्डासँग जोडेर खेलकुद प्रतियोगिता, घरवास (Homestay) र पदमार्ग सञ्चालन गर्न सकिने सम्भावना औँल्याए।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले गुर्जा, लुलाङ र मुनाको जङ्गलमा रेडपाण्डाको यकिन गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको बताए।
दातृ निकाय टोलेडोजुको आर्थिक सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) ले धवलागिरि –२ र ३ मा पर्ने जलजला, मुना र मरेनी क्षेत्रमा रेडपाण्डा संरक्षण कार्यक्रम लागू गरेको छ। जैविक विविधता संरक्षण समाज नेपालका अध्यक्ष लक्ष्मणप्रसाद पौडेलले डिभिजन वन कार्यालय, ढोरपाटन सिकार आरक्ष र सम्बद्ध स्थानीय तहसँग समन्वय गरेर समुदायस्तरमा रेडपाण्डा संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए।
अध्यक्ष पौडेलले चोरी सिकारी, डढेलो, सडक विस्तार र मानवीय गतिविधि रेडपाण्डाको संरक्षणमा मुख्य चुनौती रहेको बताउँदै भने, “रेडपाण्डाको छाला महँगोमा बिक्री हुने भ्रमका कारण अनायासै चोरी सिकार गर्ने समस्या हटाउन सकेमा मात्रै पनि यसलाई जोगाउन सकिन्छ।”
हाल नेपालमा रेडपाण्डाको सङ्ख्या पाँच सयदेखि एक हजार वटा रहेको अनुमान छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत हाब्रेलाई संरक्षितको सूचीमा राखिएको छ।