आठ कम्युनिष्ट दलबीच ‘नेकपा समाजवादी’ को नाममा एकता गर्ने १८ बुँदे सहमति
कात्तिक १९ मा एकता सम्मेलन
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
1.1k
Shares
काठमाडौँ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित आठ राजनीतिक दलहरूबीच पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार साँझ बसेको कार्यदलको बैठकले यो १८ बुँदे सहमति जुटाएको हो।
सहमति पत्रमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्नका लागि वृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएको उल्लेख छ।
एकीकृत पार्टीको नाम ‘नेकपा समाजवादी’ रहनेछ भने चुनाव चिन्ह ‘पाँचकुने तारा’ हुनेछ। पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुनेछ, र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ। पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय र रूपान्तरणमार्फत समाजवादको आधार तयार गर्ने लक्ष्य राखिएको छ।
पार्टी एकता घोषणाका लागि २०८२ कार्तिक १९ गते सहभागी सबै घटकहरूका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ। यसबाट एकताको घोषणा, अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन हुनेछ। आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने सहमति भएको छ।
केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय र कार्य संयोजन समिति जस्ता संरचना रहनेछन्। केन्द्रीय समितिमा संयोजक र सहसंयोजक को व्यवस्था गरिनेछ, जुन व्यवस्था तल्लो तहका सबै समितिहरूमा समेत लागू हुनेछ। पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्त अनुरुप हुनेछ।
एकता प्रक्रियामा सहभागी दलहरूमा नेकपा (माओवादी केन्द्र), ने.क.पा. (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, ने.क.पा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी ने.क.पा (माओवादी–समाजवादी) र ने.क.पा. (साम्यवादी) रहेका छन्।