काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) मा अन्तिम समयमा बोलपत्रदाताहरूले बिड पेस गर्दा देखिने अत्यधिक चापका कारण उत्पन्न हुने समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ।
कार्यालयले बोलपत्रदाताको अन्तिम समयमा मात्र बिड समिसन गर्ने प्रचलनका कारण प्रणालीमा अत्याधिक चाप पर्ने गरेको स्पष्ट पारेको छ। यस चापका कारण बोलपत्र प्रक्रियामा जटिलता उत्पन्न हुने र छुट्ने जोखिम अत्याधिक रहने गरेको भन्दै कार्यालयले त्यससँग सम्बन्धित गुनासा आउने गरेको उल्लेख गरेको छ।
कार्यालयले विज्ञप्तिमार्फत अन्तिम समयको चापका कारण प्रणालीमा ढिलाइ भएकै आधारमा मात्र म्याद थप गर्न नमिल्ने स्पष्ट पारेको छ। विद्युतीय खरिद प्रणालीको सर्भरमा समस्या आएर कुनै पनि प्रयोगकर्ताको पहुँच हुन नसकेमा मात्र कार्यालयले म्याद थप गर्ने गरेको जानकारी दिइएको छ।
कार्यालयले बोलपत्रदाताहरूलाई समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन र अन्तिम समयको जोखिम नलिन आग्रह गरेको छ। साथै, अन्तिम समयमा माग हुने प्राविधिक सहायता प्रदान गर्न समस्या पहिचानमा नै समय अभाव हुने स्पष्ट पार्दै कार्यालयले कुनै प्राविधिक समस्या देखापरेमा समयमा नै फोन मार्फत सम्पर्क गर्न र आवश्यक सहजीकरण गर्न अनुरोध गरेको छ।