मेचीनगरमा निन्दा खोलामाथि मल्टिस्पान झोलुङ्गे पुल सञ्चालन, यात्रा सहज
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
963
Shares
झापा। मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा रु चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ।
मेचीनगर–१५ मा निन्दा नदीमाथि चौधरीचोक र हेल्दुबारीलाई जोड्ने गरी निर्माण गरिएको उक्त पुल सञ्चालनमा आएको हो।
मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराईले पुल बनेपछि नदीको पश्चिम किनारका बासिन्दालाई विद्यालय, प्रहरीचौकी, वडा कार्यालय र स्वास्थ्य संस्था आउजाउ गर्न सहज भएको बताएका छन्। पुल नहुँदा सामान्य स्वास्थ्य सेवा लिन पनि १० किलोमिटर घुम्नुपर्ने बाध्यता रहेकोमा अहिले डेढ किलोमिटरको यात्रा गरेपछि अस्पतालसम्म सहजै पुग्न सकिने भएको छ।
स्थानीय भटभटिया राजवंशीले पुल निर्माणले कृषि उपज हाटबजार पुर्याउन र त्यहाँबाट दैनिक उपभोगका सामग्री ल्याउन सजिलो भएको बताएका छन्। उनले विगतमा ज्यानलाई जोखिममा पारेर नदी तर्नुपर्ने पीडाबाट अब मुक्त भएको स्मरण गरे।