महोत्तरी । भर्खरै दीपावली र छठसहितका मुख्य पर्व सकेका यहाँका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाएर चिन्तित भएका छन् । चाडपर्व सकेर धान काट्ने, चुट्ने र थन्क्याउने मेसोमा लागेका किसानलाई बुधबार मध्यरातपछि लगातार परेको पानीले चिन्तित बनाएको हो ।
महोत्तरीसहितका मधेशका जिल्लामा मङ्गलबार बिहानदेखि मौसम धुम्मिएर बुधबार बिहान सिमसिम पानी परेको थियो ।
बुधबार दिउँसो घाम लागे पनि मध्यरात कटेपछि झमझम पानी परिरहेपछि खेतमा पाकेको धान काट्न, चुट्न र थन्क्याउन नपाएर किसानको चिन्ता बढेको हो ।
खासगरी महोत्तरीका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रका किसान अहिले पाकेको बाली थन्क्याउन नपाउँदा चिन्तामा परेका छन् ।
“धान खेतमा पाकेर पहेंँलपुर छ, चाडवाड सकेर काटौंँला, थन्क्याउँला भनियो, पानी पो पर्न थाल्यो”, भङ्गाहा-५ कर्पुरगञ्जका ६० वर्षीय किसान रामजुलुम बाँतर भन्छन्, “पानी पर्दापर्दै काट्न पनि भएन, धान झरेर नोक्सान हुनेभयो ।” हिउँदे धान काटेर केही दिन निहीनमा सुकाउनुपर्नेमा यो पानीले काम बिगारेको बाँतर बताउँछन् ।
महोत्तरीसहितका मधेशका उत्तरी क्षेत्रमा चाँडै पाक्ने धान लगाइन्छ । उत्तरी क्षेत्रको माटो बलौटे हुँदा चाँडै रुखिने हुन्छ । यसैले गहुँ, दलहन, तेलहन, तरकारी र उखुबाली चाँडै लगाइने यस भेगमा चाँडो पाक्ने धान लगाइने गरिन्छ । यसपालि बर्खाकालमा लामो समय सुक्खा पर्दा धान रोपाइँ ढिलो भएर यस भेगमा पाक्ने समय कात्तिक दोस्रो साता पुगेको हो ।
महोत्तरीका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा अहिले धान पाकेर पहेंँलपुर छ । अधिकांश किसान धान काट्ने मेसोमै लागेका बेला अहिले पानी परेपछि यो काम बिथोलिएको हो ।
उत्तरी क्षेत्रमा धान पाकेर पहेंँलपुर भए पनि मध्य र दक्षिणी क्षेत्रमा भने मङ्सिरमा पाक्ने धान बढी रोपिँदा परेको पानीले त्यति बिगारी नहालेको सो भेगका किसान बताउँछन् ।
“अहिले पानी त चाहिएको थिएन, तर हाम्रोतिर धान पाक्न अझै दुई साता लाग्छ, त्यसैले अहिले परेको पानीले धेरै बिगार नगर्ला”, रामगोपालपुर-२ महानपुरका किसान कादिर हुसैन भन्छन्, “चोटिलो पानी पर्याे भने बोटबाटै धान झर्ने डर छ ।”
जिल्लाको उत्तरी क्षेत्रका गौशाला, भङ्गाहा र बर्दिबास नगरपालिकाका बस्तीमा भने अहिले धान काट्ने, निहिन सुकाउने, चुट्ने र थन्क्याउने चटारोकैबीच पानी परेको छ । अहिलेको पानी पनि मध्य र दक्षिणी क्षेत्रभन्दा उत्तरी क्षेत्रमै बढी परेको छ । अब धान काट्ने काम दुई÷चार दिनपछि धकेलिएको किसान बताउँछन् ।
हिउँदे धान काटेर दुई/तीन दिन निहिनमा सुकाउनुपर्ने हुँदा मौसम सफा हुन पर्खनैपर्ने बर्दिबास-९ पशुपतिनगरका किसान महेन्द्र महतो बताउँछन् ।
अब धान काट्न हुने ढिलोले गहुँ छर्ने, आलु रोप्ने र दलहन बाली लगाउने कामलाई पनि पछि धकेल्ने चिन्ताले किसान पिरोलिएका छन् । यसैगरी धान काटेर उखु रोप्ने मन बनाएका किसान पनि छटपटिएका छन् ।
अहिलेको पानीले हिउँदे तरकारी रोप्ने, गोडमेल गर्ने र फलेका तरकारी पालोमा टिपेर बजार पुर्याउन पनि नदिने किसानको चिन्ता छ ।
“पानी पर्दैछ, पालोमा टिपेर बजार पुर्याउन पर्ने भण्टा, रामतोरिया, घिरौंँला, लौका र झिमनी एक दिनमै छिप्पिन्छन्, अनि ढुसी लाग्ने र कीराको आक्रमण पनि बढ्छ”, तरकारीखेतीका किसान बर्दिबास-९ पशुपतिनगरका रामविनोद महतो भन्छन्, “यो पानी तुक (समय) को भएन ।”
खेतीपाती प्रतिकूलताकाबीच गर्नुपरेको आम किसानको गुनासो छ । कहिले खडेरी, कहिले बेमौसमको वर्षा यी सबै अप्ठ्याराबीच खेतीपाती चलाउनुपरेको किसान बताउँछन् ।
एउटा कामको समय घर्किदा त्यसले पछिसम्म प्रभाव पार्ने गरेको किसानको अनुभव छ । अहिले जिल्लाकै मुख्यबाली मानिने धान थन्क्याउन अनुकूल समय बिग्रदा चिन्ता थपेको किसान बताउँछन् ।
यसैबीच मधेश प्रदेश सरकारले अहिले बङ्गालको खाडीको मोन्था चक्रवातको प्रभाव मधेशका सबै जिल्लामा पर्ने भनेर सचेत गराउँदै धान काट्ने काम तत्काल नगर्न किसानलाई सचेत गराएको छ ।
बुधबार मधेश प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकपछि मुख्यमन्त्री जीतेन्द्र सोनलले अहिले सावधानी अप्नाउन आम प्रदेशवासीलाई सचेत गराउँदै अनुकूल मौसम नहउञ्जेल धान नकाट्न अपिल गरेका छन् ।
“प्रदेश सरकार यसबाट पर्नसक्ने विपद्बारे सचेततापूर्वक तयारीमा लागेको छ, यो अवस्थालाई हल्का नलिनुहोला”, मुख्यमन्त्रीले अपिल गर्दै भनेका छन् ।
यो मौसम अझै दुई दिन रहनसक्ने जनाउँदै प्रदेश सरकारले नदीहरुमा बहाव बढ्नसक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अप्नाउन अपिल गरेको छ । रासस