सबै मन्त्रालय र निकायहरूलाई ‘तत्काल सुधार कार्ययोजना’ पठाउन मुख्यसचिवको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
1.1k
Shares
काठमाडौँ। मुख्यसचिव एकनारायण अर्यालले जेन–जी आन्दोलनका क्रममा उठाइएका सुशासनसम्बन्धी मागहरूलाई सम्बोधन गर्नका लागि सबै मन्त्रालय र निकायहरूलाई ‘तत्काल सुधार कार्ययोजना’ पठाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको कात्तिक १२ गते मङ्गलबार बसेको सचिवहरूको बैठकको निर्णयअनुसार, २०८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि उठेका मागहरू सम्बोधन गर्न आवश्यक सुधारका कार्यहरू समावेश गरी कार्ययोजनाको खाका आगामी कात्तिक १६ गते आइतबारसम्म शासकीय सुधार महाशाखामा पठाउनुपर्नेछ।
बैठकले आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा पुगेको क्षतिको विवरण राष्ट्रिय योजना आयोगले तोकेको पोर्टलमा शीघ्र प्रविष्ट गर्न व्यवस्था मिलाउने निर्णय गरेको छ। आयोगले क्षतिको समग्र विवरण प्राप्त हुनेगरी आवश्यक टेम्प्लेट परिमार्जन र सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्ने बताइएको छ।
यसैगरी, आन्दोलनका कारण अवरुद्ध भएका सार्वजनिक सेवाहरू सुचारु गर्न विशेष खरिद प्रक्रिया अघि बढाउने र सेवा सञ्चालनमा असहजता भएका क्षेत्रमा शहरी विकास मन्त्रालयले सम्भव भएसम्म सरकारी भवन उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ। स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सार्वजनिक निकायहरूले यथासम्भव स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने तथा सुरक्षा निकायहरूलाई चुस्त, दुरुस्त र उच्च मनोबलयुक्त बनाउन आवश्यक सामग्रीका लागि अर्थ मन्त्रालयले बजेट व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ।