मोन्था चक्रवातले देशैभर असर, ४४ जिल्लामा सतर्क रहन आग्रह, काठमाडौँमा आजभन्दा भोलि ठूलो पानी [फोटोफिचर]
आज र भोलि ४४ जिल्लामा उच्च सतर्कता अपनाउन र दश जिल्लामा निरन्तर मौसमबारे जानकारी लिएर बस्न विपद् जोखिम न्यूनीकरणको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
1k
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । अहिले देशका विभिन्न भागमा पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि झरी परेको छ ।
पश्चिमी वायुको सक्रिय प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीका साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव देशैभरपरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ ।
कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ । आज उपत्यकामा बिहानैदेखि हल्का वर्षा हुँदा जनजीवन केही प्रभावित भएको छ ।
आजभन्दा भोलि बढी पानी पर्ने पनि जनाइएको छ । मौसमविद्हरुका अनुसार आज धेरैजसो ठाउँमा हल्का वर्षा हुनेछ । केही स्थानमा मात्रै भारी वर्षा हुनेछ । काठमाडौंमा आज हल्का वर्षा हुनेछ । भोलि भने काठमाडौँका केही ठाउँमा भारी वर्षा हुने अनुमान र्माैसमविद्हरुको छ ।
देशैभर आजभन्दा ‘मोन्था’ चक्रवातको असर भोलि धेरै देखिनेछ । त्यसैले आजभन्दा भोलि धेरै वर्षाको सम्भावना छ । आज दिउँसोबाट ‘मोन्था’को प्रभाव केही बढ्दै जाने र रातिबाट थप बढ्ने उनको भनाइ छ । लुम्बिनी प्रदेशमा पनि रातिबाट यसको प्रभाव बढी देखिनेछ । प्रभाव बढ्दै जाँदा वर्षा पनि ठूलो हुँदै जानेछ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि ४४ जिल्लामा उच्च सतर्कता अपनाउनु पर्ने र दश जिल्लामा निरन्तर मौसमबारे जानकारी लिएर बस्न आग्रह गरेको छ ।
प्राधिकरणले आज बिहानदेखि भोलि बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको बताएको छ ।
कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
कात्तिकमा वर्षा भएसँगै चिसोसमेत ह्वात्तै बढेको छ ।