काठमाडौँ । मुलुकभर परेको पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव काठमाडौँमा पनि रहेको छ ।
देशका विभिन्न भागमा हल्का वर्षा र हिमपात भएको छ । काठमाडौँ उपत्यकामा फाटफुट वर्षा भएको छ । तर हल्का पानी परे पनि खुलेर पानी झर्न नसक्दा जाडो झन् बढाएको छ ।
सोमबार दिउँसोदेखि नै धुम्म देखिएको काठमाडौँमा चिसो ह्वात्तै बढेको छ । जसका कारण वृद्धवृद्धा र बिरामीलाई समस्या भएको छ । मौसमको असरकै कारण रुघाखोकीसमेत बढेको छ ।
हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा देशभर साधारणतया बदली रहने भएको छ ।
दिउँसो गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम बुलेटिनमा उल्लेख छ ।
साथै बाँकी तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बागमती , गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात–वर्षाको पनि सम्भावना छ ।
त्यसैगरी आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ ।
गण्डकी प्रदेशका केही स्थान तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा कोशी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।
बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । सचेत रहनसमेत आग्रह गरिएको छ ।