चितवन कारागारबाट भागेका १३९ कैदीबन्दी अझै फरार, लागुऔषधका दोषी धेरै
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
888
Shares
चितवन। चितवन जिल्ला कारागारबाट गत भदौ २५ गते भागेका कैदीबन्दीहरूमध्ये १३९ जना अझैसम्म सम्पर्कमा आएका छैनन्। फरार हुनेहरूमा ११ जना भारतीय नागरिक र दुई जना बालबालिकासमेत छन्।
कारागार कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार, गत भदौ २५ गते चार नाबालकसहित कुल ७४३ कैदीबन्दी भागेका थिए। तीमध्ये ५९१ जना कारागारमा फर्किएका छन् भने नौ जना अन्य कारागारमा पुगेका छन्।
फरार रहेका १३९ जनाको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइहरूमा पत्राचार गरिएको ढुङ्गानाले जानकारी दिए। सम्पर्कविहीन भएकाहरूमा धेरैजसो लागुऔषध र जबरजस्ती करणीका दोषीहरू रहेको र फरार हुनेमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारीसमेत रहेको उनले बताए।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले सबै एकाइमार्फत फरार कैदीबन्दीको खोजी भइरहेको र यस कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन्। हालसम्म फर्किएकामध्ये ६२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा बुझाएको हो।
कारागार कार्यालयले गत असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह गर्दै तोकिएको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको थियो। साथै, फरार रहेका कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने जनाइएको छ।