जाडो छल्न साइबेरियाबाट सीमसार क्षेत्रमा पाहुना चराको आगमन शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
1k
Shares
कञ्चनपुर। जाडो छल्नका लागि साइबेरिया, किर्गिस्तान, उत्तरी चीन, तिब्बत र मङ्गोलियालगायत उत्तरी गोलाद्र्धका चिसो क्षेत्रबाट कञ्चनपुर र कैलालीका सीमसार, नदी तथा तालतलैयामा हिउँदे पाहुना चराहरू आइपुग्ने क्रम शुरु भएको छ। यी क्षेत्रमा अत्यधिक चिसो बढेर तापक्रम माइनस डिग्रीमा पुगेपछि चराहरू प्रत्येक वर्ष लामो दूरी तय गरेर यहाँ बसाइँ सरेर आउने गर्छन्।
नेपाल पन्छी संरक्षण सङ्घका वरिष्ठ चराविज्ञ हिरुलाल डगौराले वर्षा सकिएर चिसो मौसम शुरु भएसँगै पाहुना चराहरूको आगमनले सीमसार क्षेत्र र तालतलैयामा चहलपहल बढाएको जानकारी दिए।
चराविज्ञ डगौराका अनुसार, पाहुना चराहरूको आगमन कञ्चनपुरको पुरैनी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको सिकारी ताल, महाकाली र चौधर नदी, कैलालीको घोडाघोडी ताल, वसन्ता जैविक मार्ग, कर्णाली नदी तथा डडेल्धुराको आलितालसम्म शुरु भइसकेको छ।
बसाइँ सारेर आउने चराहरूमा अधिकांश हाँस प्रजातिका चराहरूसँगै अन्य जलपन्छी र फिस्टे चराहरू रहेका छन्। तालतलैयामा विशेषगरी मालक हाँस, खरखसे हाँस, हरियो टाउके हाँस, सिन्दुरे हाँस, कैले टाउके हाँससहित जीवल फिस्टो, डुबुल्के, लालकण्ठे, झेकझेक भ्रयाप्सी, खैरो भद्राई, मोटोठाँडे र ट्याकट्याकेलगायत प्रजाति देखिने गरेका छन्। नेपालमा प्रत्येक वर्ष करिब १०० भन्दा बढी प्रजातिका चरा जाडो छल्नका लागि बसाइँ सारेर आउने गरेका छन्, जसमध्ये आधाभन्दा बढी हाँस प्रजातिका हुने गर्छन्।
वरिष्ठ चराविज्ञ डगौराले पछिल्ला केही वर्षमा बसाइँ सर्ने पाहुना चराहरूको सङ्ख्या घट्दो क्रममा रहेको बताएका छन्। सीमसार क्षेत्रमा मानव अतिक्रमण बढ्नु र प्राकृतिक तालतालैयामा माछापालनको कार्य हुन थालेपछि पाहुना चराको सङ्ख्यामा गिरावट आएको उनको भनाइ छ। चराको दीर्घकालीन संरक्षणका लागि सीमसार क्षेत्रको व्यवस्थापन, जनचेतना अभिवृद्धि र स्थानीय समुदायको सहभागिता आवश्यक रहेकोमा डगौराले जोड दिएका छन्।