arrow

राष्ट्रियता झल्काउँदै 'क्रिकेट पण्डाल', कालीपूजामा खेलाडीको आकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
player-list.jpg

भद्रपुर (झापा) । झापाको भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ। ‘जेनजी’ आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरताबाट निराश जनतालाई राष्ट्रिय क्रिकेट टोलीले हालै दिएको उत्साह र खुसीलाई आत्मसात् गर्दै क्लब बाङ्गला भद्रपुरले पण्डाल निर्माण गरेको हो।

पूजा समितिका संयोजक विजय साहका अनुसार पण्डालमा सिनियर पुरुष, सिनियर महिला तथा पूर्वराष्ट्रिय खेलाडी गरी ३५ वटा तस्बिर समावेश गरिएका छन्। समितिका सदस्य पार्थ मण्डलले आगामी सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी–ट्वान्टी विश्वकपमा नेपाली टोलीले अझ ठूलो सफलता प्राप्त गरोस् भन्ने उद्देश्यले खेलाडीहरूको आकृतिमा पण्डाल निर्माण गरिएको बताए।

मण्डलले भने, “हामीले छोटो समयमा विभिन्न सहयोगी दाताको साथ र सहयोगमा राष्ट्रियता झल्काउने पण्डाल निर्माण गर्न सफल भएका हौँ। पण्डाल सबैले रुचाएका छन्, यस कार्यको प्रशंसा पनि गरेका छन्।”

पण्डाल, बिजुली बत्ती र साङ्गीतिक कार्यक्रमलगायतमा करिब रु सात लाख खर्च हुने अनुमान गरिएको समितिले जनाएको छ। समितिका सदस्य निर्मल घोषले कात्तिक ७ गते पूजास्थलमा स्थानीय तथा भारतीय कलाकारहरूको सहभागितामा बृहत् साङ्गीतिक कार्यक्रम आयोजना गरिने जानकारी दिए।

बङ्गाली समुदायका युवाहरूले स्थापना गरेको क्लब बाङ्गला भद्रपुरले विगत नौ वर्षदेखि विभिन्न आकृतिमा पण्डाल निर्माण गर्दै कालीपूजा गर्दै आएको छ। अघिल्लो वर्ष यस क्लबले केदारनाथ मन्दिरको आकृतिमा पण्डाल बनाएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ